NEPSE
बुधबार, १३ जेठ २०८३ | | Wednesday, May 27, 2026
समाचार

नेपालको शिक्षामा सहकार्य बढाउन नर्वे सरकार उत्सुक

समाचार पढिँदैछ...

काठमाडौँ, २१ वैशाख — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि नर्वेका राजदूत महामहिम डागनी म्योसबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा सोमबार सम्पन्न भेटमा शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलकुद क्षेत्रहरूमा नेपाल–नर्वे सहकार्य विस्तार गर्ने विषयमा छलफल गरिएको छ।

भेटका क्रममा नेपालको विद्यालय शिक्षामा नर्वेले पुर्‍याउँदै आएको सहयोगको निरन्तरता र आगामी साझेदारीका सम्भावनाहरूमा विशेष ध्यान केन्द्रित गरिएको थियो। वर्तमान सरकारका प्राथमिकता तथा शिक्षा सुधारका योजनाहरूसँग सहकार्य कसरी अझ प्रभावकारी बनाउने भन्ने विषयमा पनि विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।

मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा विशेषगरी समावेशिता, समता, आधारभूत सिकाइ (Fundamental Learning) तथा ‘क्लाइमेट स्मार्ट एजुकेशन सिस्टम’ जस्ता क्षेत्रमा नर्वे सरकारको सहयोगको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे। उनले नर्वेको शिक्षा प्रणालीलाई उदाहरणीय उल्लेख गर्दै त्यसबाट नेपालले धेरै सिक्न सक्ने र आवश्यक प्रविधि तथा अभ्यास अपनाउन मन्त्रालय तयार रहेको बताए।

त्यसैगरी, राजदूत डागनी म्योसले नेपालको शिक्षा क्षेत्रमा नर्वेले गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्। उनले नेपाल सरकारका प्राथमिकताहरूबारे आफू जानकार रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा थप सहकार्य विस्तार गर्न नर्वे सरकार उत्सुक रहेको धारणा राखिन्।

मन्त्रालयका अनुसार यो भेटले दुई देशबीच शिक्षा क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।