ऊर्जा क्षेत्रमा सुधार र प्रसारण लाइन विस्तारलाई सरकारले प्राथमिकता दिने : मन्त्री विराज भक्त श्रेष्ठ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ ले ऊर्जा क्षेत्रको दीर्घकालीन विकासका लागि कर्मचारीहरूको अनुभव, क्षमता र रचनात्मक सुझाव आवश्यक रहेको बताउनुभएको छ। विद्युत विकास विभाग र विद्युत नियमन आयोगका कर्मचारीहरूसँग भएको छलफलमा उहाँले कार्यक्षेत्रभन्दा बाहिरका विषयमा समेत सकारात्मक सुझाव दिन आग्रह गर्नुभयो।
मन्त्री श्रेष्ठले मन्त्रालयले अघि बढाएको जलस्रोत, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकबारे कर्मचारीहरूबाट सुझाव संकलन भइरहेको जानकारी दिनुभयो। उहाँले उत्पादित विद्युत खेर जान नदिन तथा जनताको लगानी सुरक्षित गर्न आगामी आर्थिक वर्षभित्र नेपाल विद्युत प्राधिकरण र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीमार्फत एक दर्जनभन्दा बढी रणनीतिक महत्वका प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य सरकारको रहेको बताउनुभयो।
उहाँले विद्युत उत्पादन तीव्र गतिमा बढिरहेको भए पनि खपत विस्तार हुन नसके भविष्यमा देश ऋणको जोखिममा पर्न सक्ने चेतावनी दिनुभयो। त्यसैले अब विभागले विद्युत खपत वृद्धि, प्रसारण पूर्वाधार विस्तार तथा ऊर्जा व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।
मन्त्री श्रेष्ठले जलविद्युत आयोजनाको विकासमा नयाँ मोडालिटी अपनाउँदै अन्य निकायसँग सहकार्य गरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। विश्वव्यापी परिवर्तनसँगै नेपालको ऊर्जा आवश्यकता र प्राथमिकताबारे नयाँ ढंगले सोच्नुपर्ने अवस्था आएको उल्लेख गर्दै उहाँले विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रियामा विभाग थप जिम्मेवार र गम्भीर हुनुपर्ने बताउनुभयो।
उहाँले विभागले लाइसेन्स जारी गर्ने काममा मात्रै सीमित नभई आयोजनाको गुणस्तर, उपकरण तथा भौतिक पूर्वाधारको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट पार्नुभयो। केही वर्षपछि सरकारको स्वामित्वमा आउने आयोजनाहरूको अवस्था मापदण्डअनुसार सुनिश्चित गर्न मन्त्रालयले गृहकार्य गरिरहेको र त्यसमा विभागको भूमिका महत्वपूर्ण रहने उहाँको भनाइ थियो।
मन्त्री श्रेष्ठले आफूले क्षणिक लोकप्रियताभन्दा सुशासन र शासकीय सुधारलाई प्राथमिकता दिएर काम गरिरहेको उल्लेख गर्दै उत्कृष्ट कार्यसम्पादनका आधारमा कर्मचारीलाई जिम्मेवारी र अवसर प्रदान गरिने बताउनुभयो।
यसैबीच, विद्युत नियमन आयोगमा पदाधिकारी रिक्त हुँदा नियमित काम कारबाहीमा परेको प्रभावबारे जानकारी लिँदै उहाँले आयोगमा पदाधिकारी नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको र केही दिनमै आयोगले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो।
#BirajBhaktaShrestha #EnergyNepal #Hydropower #TransmissionLine #Electricity #NepalGovernment #RenewableEnergy #GoodGovernance #Kathmandu #NepalNews