एक वर्षअघि रवि लामिछानेको न्यायका लागि उभिएको थिएँ, आज आफ्नै न्याय माग्न बाध्य छु' — सोम शर्मा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सोम शर्माले पार्टीको केन्द्रीय सदस्यको अन्तिम सूचीबाट आफ्नो नाम हटाइएको विषयमा गम्भीर असन्तुष्टि जनाउँदै आफू अन्यायमा परेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शर्माले एक वर्षअघि यही दिन बनस्थलीस्थित पार्टी कार्यालयमा सभापति रवि लामिछानेको न्यायका लागि हस्ताक्षर गर्न आएको स्मरण गर्दै अहिले भने आफ्नै न्यायको याचना गर्नुपर्ने अवस्था आएको बताएका छन्।
उनले निर्वाचन प्रक्रियामा आफ्नो नामसम्बन्धी दोस्रो पटक त्रुटि भएको दाबी गरेका छन्। सुरुमा मतगणनामा त्रुटि गरी आफूलाई निर्वाचित सूचीमा कैफियतसहित राखिएको र पछि "प्राविधिक त्रुटि" भन्दै सच्याइएको उल्लेख गर्दै अहिले कुनै जानकारी नै नदिई अन्तिम सूचीबाट नाम हटाइएको आरोप लगाएका छन्।
शर्माले गण्डकी प्रदेश भूगोलतर्फ आफूले ९९३ मतसहित चौथो सर्वाधिक मत प्राप्त गरेको दाबी गर्दै पाँच जना निर्वाचित हुने व्यवस्था हुँदाहुँदै कुन आधारमा आफूभन्दा कम मत प्राप्त उम्मेदवारलाई अघि सारिएको भन्ने प्रश्न उठाएका छन्।
उनले यो विषय आफ्नो व्यक्तिगत अन्याय मात्र नभई आफूलाई मत दिने ९९३ जना सदस्यको मतको पनि अपमान भएको बताएका छन्। साथै, पार्टी नेतृत्वले आफ्नो गुनासो सुन्ने र न्याय हुने विश्वास अझै कायम रहेको उल्लेख गरेका छन्।
शर्माले आफ्नो नाम हटाइएको जानकारीसमेत आफूले सामाजिक सञ्जालबाटै थाहा पाएको दाबी गर्दै यसबारे कसैले आधिकारिक जानकारी नदिएको गुनासो गरेका छन्।
#OnlinePatiNews #RSP #SomSharma #RabiLamichhane #NepalPolitics #InternalDispute #PartyElection #NepalNews