काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने व्यवस्था लागू गरेको छ।
मन्त्रालयका अनुसार सरुवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटोछरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले विकसित गरिएको यो प्रणाली कर्मचारीको डिजिटल प्रोफाइलमा आधारित हुनेछ। व्यक्तिगत तथा सेवासम्बन्धी विवरण सम्बन्धित प्रणालीसँग प्रत्यक्ष वा API मार्फत आबद्ध हुने भएकाले आवश्यक सूचना स्वतः अद्यावधिक हुनेछ।
नयाँ प्रणालीमा सरुवा आवेदनका लागि फ्ल्यागिङ प्रणाली र प्रोसेस ट्र्याकिङ सुविधा रहनेछ। यसमार्फत कर्मचारीले आफ्नो आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी अनलाइनबाटै हेर्न सक्नेछन्।
त्यसैगरी, सरुवासम्बन्धी पत्रहरू प्रणालीबाटै स्वचालित रूपमा तयार हुनेछन्। आवश्यक परे अन्य सरकारी निकायका प्रणालीसँग पनि API मार्फत सूचना आदान–प्रदान गर्न सकिने व्यवस्था रहने मन्त्रालयले जनाएको छ। सरुवासम्बन्धी निर्णय तथा विवरण मन्त्रालयको वेबसाइटमा २४ घण्टाभित्र सार्वजनिक गरिने व्यवस्था पनि गरिनेछ।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले डिजिटल सरुवा प्रणालीले कर्मचारी प्रशासनलाई थप पारदर्शी, उत्तरदायी र प्रविधिमैत्री बनाउने बताएकी छन्। उनका अनुसार यसबाट सरुवा प्रक्रियामा हुने ढिलाइ घट्ने, पारदर्शिता बढ्ने र कर्मचारीले सहज तथा विश्वासयोग्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
#OnlinePatiNews #Nepal #DigitalNepal #CivilService #TransferSystem #GoodGovernance #Technology #Government #PublicAdministration