काठमाडौँ — लगानी बोर्ड नेपाल को अनुगमन तथा सहजीकरण समितिको १३औँ बैठक सम्पन्न भएको छ। मङ्गलबार अर्थ मन्त्रालय मा अर्थमन्त्री स्वर्णिम वाग्ले को संयोजकत्वमा बैठक बसेको हो।
बैठकमा अर्थमन्त्री वाग्लेले स्वीकृत आयोजनाहरूको कार्यान्वयनमा भएको ढिलासुस्तीप्रति गम्भीर असन्तुष्टि जनाउँदै कडा टिप्पणी गरे। उनका अनुसार लगानी स्वीकृत भएका ५५ आयोजनामध्ये जम्मा २ वटा मात्रै निर्माण चरणमा जानु “लाजमर्दो अवस्था” भएको बताए। विदेशी लगानी स्वीकृत भएर लामो समय बित्दा पनि काम अघि नबढ्नुले गम्भीर समीक्षा आवश्यक भएको उनको भनाइ थियो।
उनले आयोजनाहरू अघि नबढ्नुको जिम्मेवार को हो भन्ने विषयमा स्पष्ट जवाफ खोज्दै आवश्यक परे व्यक्ति वा कानुन दुवै परिवर्तन गर्नुपर्ने अवस्था आएको उल्लेख गरे। “अब समस्या तुरुन्त पहिचान हुनुपर्छ, १४औँ बैठकसम्म ठोस प्रगति नदेखिए निर्मम निर्णय हुन्छ,” उनले चेतावनी दिए। साथै कम्तीमा १० वटा आयोजनामा तत्काल प्रगति देखिनुपर्नेमा जोड दिँदै केही ‘फेन्सी’ आयोजनाबारे पुनर्विचार गर्नुपर्ने धारणा राखे।
प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल ले देशको भविष्यसँग जोडिएका परियोजनाहरूको अवस्था दयनीय रहेको टिप्पणी गर्दै प्रगतिको अवरोध तुरुन्त हटाउन आग्रह गरे। उनले कुन निकाय वा व्यक्तिका कारण समन्वयमा समस्या आएको हो भन्ने विषयमा अब कडा अनुगमन गरिने बताए।
बैठकमा सुशील ज्ञवाली ले लगानी बोर्डको कार्यक्षेत्र, अधिकार तथा स्वीकृत आयोजनाहरूको अवस्थाबारे विस्तृत जानकारी गराएका थिए। साथै अघिल्लो १२औँ बैठकका निर्णयहरूको कार्यान्वयन अवस्थाबारे पनि स्पष्ट पारेका थिए।
#लगानीबोर्ड #अर्थमन्त्रालय #विदेशीलगानी #विकासपरियोजना