NEPSE
बुधबार, १३ जेठ २०८३ | | Wednesday, May 27, 2026
समाचार

संसद छलेर अध्यादेश ल्याउनु 'बहादुरी' होइन, संविधानको मर्म मारियो: सांसद गणेश कार्की

समाचार पढिँदैछ...

काठमाडौँ । सरकारले संसदको अधिवेशन अन्त्य लगत्तै दुईवटा अध्यादेश ल्याउन राष्ट्रपति समक्ष सिफारिस गरेपछि सत्तापक्षीय दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले तीव्र असन्तुष्टि जनाउनुभएको छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद कार्कीले झन्डै दुई-तिहाइ बहुमत प्राप्त सरकारले संसद छलेर अध्यादेशको बाटो रोज्नु 'बहादुरी' नभएको टिप्पणी गर्नुभएको हो।

संविधान अक्षरमा होइन, मर्ममा बाँच्नुपर्छ

सांसद कार्कीले अध्यादेश ल्याउने प्रक्रिया संवैधानिक अक्षरमा देखिए पनि यसले संविधानको आत्मालाई चोट पुर्‍याएको बताउनुभएको छ। उहाँले भन्नुभएको छ, "अध्यादेश यसपटक पनि संविधानको हुबहु अक्षरमा आधारित छ, संविधानको मर्ममा होइन। संविधान अक्षरले बाँच्ने दस्तावेज होइन, मर्मको पालनाले जीवन्त रहने हो।"

हिजोका प्रश्नहरू आज पनि जीवित छन्

विगतमा विपक्षी दलले अध्यादेश ल्याउँदा आफूले उठाएका नैतिक प्रश्नहरू अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उहाँको जिकिर छ। सत्तामा पुग्दैमा विगतको अडान परिवर्तन नहुने संकेत गर्दै उहाँले लेख्नुभएको छ, "विपक्षी दलले यस्तै बेलामा अध्यादेश ल्याउँदाखेरिका मैले उठाएका प्रश्नहरू अहिले पनि जीवित छन्।"