सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह
सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सूचना प्रविधि क्षेत्रमा काम गरिरहेका युवा उद्यमीहरूलाई स्वदेशमै निर्धक्क भएर लगानी बढाउन आग्रह गर्नुभएको छ।
मंगलबार अर्थ मन्त्रालयमा सूचना प्रविधि क्षेत्रका युवा उद्यमीहरूसँग छलफल गर्दै उहाँले सूचना प्रविधि सरकारको विशेष प्राथमिकतामा रहेको बताउनुभयो। छोटो समयमै ठूलो उपलब्धि हासिल गर्न सकिने क्षेत्र भएकाले उद्यमीहरूले आफ्नो व्यवसाय विस्तार गर्नुपर्ने उहाँको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले सरकारले सूचना प्रविधि क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै उद्यमीहरूलाई आफ्ना समस्या र आवश्यकताबारे खुलस्त रूपमा जानकारी गराउन आग्रह गर्नुभयो। युवाहरू रोजगारीका लागि विदेशिन नपर्ने वातावरण बनाउन सूचना प्रविधि क्षेत्रको विस्तार आवश्यक रहेको उहाँले बताउनुभयो।
सरकारले चालु आर्थिक वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिएको, कृत्रिम बौद्धिकता (एआई) को विकासका लागि बजेट विनियोजन गरेको र युवा उद्यमीलाई प्रोत्साहन गर्ने नीति लिएको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो।
नेपाललाई सूचना प्रविधिको भ्यालु चेन विकास हुने अन्तर्राष्ट्रिय हबका रूपमा अघि बढाउने सरकारको रणनीति रहेको उहाँले बताउनुभयो। विश्वस्तरीय सूचना प्रविधि कम्पनीहरूलाई नेपाल भित्र्याउन समेत सरकारले पहल गरिरहेको उहाँको भनाइ छ।
छलफलमा सहभागी दुई दर्जनभन्दा बढी सूचना प्रविधि क्षेत्रका युवा उद्यमीहरूले सरकारले आईटी क्षेत्रलाई प्राथमिकतामा राखेकोमा धन्यवाद दिएका थिए। उनीहरूले सूचना प्रविधि क्षेत्रको विकासका लागि एकल विन्दु सेवा केन्द्र सञ्चालन, विदेशी मुद्रा सटही सुविधा सहज बनाउन तथा कानुनी जटिलता हटाउन सरकारको ध्यानाकर्षण गराएका थिए।
#onlinepatinews #InformationTechnology #NepalEconomy #TechEntrepreneur #SwarnimWagle

