चाडपर्वमा नेपाल टेलिकमको बम्पर अफर: इन्टरनेट जडानमा रु. ५०० छुट, १२ महिनाको शुल्कमा १३ महिना सेवा
समाचार सुन्नुहोस् (Listen to News)
चाडपर्वमा नेपाल टेलिकमको बम्पर अफर: इन्टरनेट जडानमा रु. ५०० छुट, १२ महिनाको शुल्कमा १३ महिना सेवा
काठमाडौँ । नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ पर्वको अवसरमा आकर्षक सुविधासहितको ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ। कम्पनीले नयाँ इन्टरनेट जडानमा छुट, वार्षिक प्याकेजमा थप सेवा तथा सस्तो दरका मोबाइल डाटा, भ्वाइस र एसएमएस प्याक ल्याएको हो।
कम्पनीका अनुसार नयाँ फाइबर टु द होम (एफटीटीएच) इन्टरनेट जडान गर्दा ग्राहकले रु. ५०० जडान शुल्क छुट पाउनेछन्। त्यसैगरी १००, १५० र २०० एमबीपीएस गतिको वार्षिक इन्टरनेट प्याकेज खरिद गर्दा १२ महिनाको शुल्कमा १३ महिनासम्म सेवा उपभोग गर्न सकिनेछ। यस प्याकेजसँगै पाइने बोनस मोबाइल डाटा पनि १३ महिनासम्म नै चलाउन सकिने टेलिकमले जनाएको छ। भर्चुअल सेट–टप बक्ससहितको प्याकेज लिने ग्राहकलाई भने रु. १ हजार छुट दिइएको छ। यो छुट असोज २५ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ।
मोबाइल प्रयोगकर्ताका लागि टेलिकमले दैनिक ५ जीबी डाटासहितको रु. ४९९ को ‘फेस्टिभल अनलिमिटेड’ र दैनिक १० जीबी डाटासहितको रु. ६९९ को ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ प्याकेज ल्याएको छ। तोकिएको दैनिक उच्चगतिको डाटा सकिएपछि पनि क्रमशः २ एमबीपीएस र ३ एमबीपीएसको गतिमा महिनाभर असीमित इन्टरनेट चलाउन पाइनेछ।
यस्तै, रु. २०० मा सबै नेटवर्कमा कुरा गर्न सकिने १ हजार मिनेटको ‘जोयफुल मिनेट्स’ र रु. ९९ मा टेलिकमकै नेटवर्कभित्र पठाउन मिल्ने १ हजार एसएमएसको ‘फेस्टिभ म्यासेज’ प्याक पनि उपलब्ध छ। यी मोबाइल प्याकहरूको समयावधि ३० दिन रहनेछ र ग्राहकले असोज ३० देखि कात्तिक ३० गतेसम्म लिन सक्नेछन्।
सेवा लिन इच्छुक ग्राहकले आफ्नो मोबाइलबाट 141511# डायल गरेर वा टेलिकमको एपमार्फत सजिलै यी प्याकेजहरू सुचारु गर्न सक्नेछन्।
#onlinepatinews #NepalTelecom #DashainOffer #NepalNews

