विद्युत् महसुलमा ५ प्रतिशत भ्याटविरुद्धको हस्ताक्षर अभियान पुनः सुरु गर्ने उज्यालो नेपाल पार्टीको घोषणा
समाचार सुन्नुहोस् (Listen to News)
विद्युत् महसुलमा ५ प्रतिशत भ्याटविरुद्धको हस्ताक्षर अभियान पुनः सुरु गर्ने उज्यालो नेपाल पार्टीको घोषणा
काठमाडौँ । उज्यालो नेपाल पार्टीले विद्युत् महसुलमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेजीको माग गर्दै रोकिएको बृहत् हस्ताक्षर अभियानलाई पुनः निरन्तरता दिने निर्णय गरेको छ।
सरकारले विद्युत् महसुलमा थपेको करले सर्वसाधारणमाथि थप आर्थिक भार परेको भन्दै पार्टीले गत भदौ १ गतेबाट देशव्यापी हस्ताक्षर अभियान थालेको थियो। तर, भदौ १० गते रसुवामा आएको विनाशकारी बाढी-पहिरो र विपद्का कारण अभियानलाई केही समयका लागि स्थगित गरिएको थियो।
आम नागरिकको दैनिकी र जनहितसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले जनस्तरबाटै अभियानलाई अघि बढाउन माग आएपछि पुनः सञ्चालन गर्ने निर्णय भएको पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ।
केन्द्रीय कार्यालय त्रिपुरेश्वरद्वारा जारी विज्ञप्तिअनुसार पार्टीका सम्पूर्ण प्रदेश, जिल्ला, पालिका तथा वडा तहका समिति तथा कार्यकर्ताहरूलाई आ-आफ्नो क्षेत्रमा तत्काल हस्ताक्षर संकलन कार्य अगाडि बढाउन निर्देशन दिइएको छ।
अभियानलाई केवल औपचारिकतामा सीमित नराखी थप प्रभावकारी र व्यवस्थित बनाउन स्थानीय नागरिक, उपभोक्ता समूह र सरोकारवालाहरूसँग समन्वय गर्न समेत आह्वान गरिएको छ। महसुलमा लगाइएको भ्याट हटाउन दबाब सिर्जना गर्न आम उपभोक्ताको स्वैच्छिक सहभागिता जुटाउने योजना पार्टीको छ।
#onlinepatinews #ElectricityTariff #VATScrap #PublicMovement

