केन्द्रीय कार्यालयका लागि आफ्नै घर वा जग्गा खरिद गर्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव आह्वान
समाचार सुन्नुहोस् (Listen to News)
केन्द्रीय कार्यालयका लागि आफ्नै घर वा जग्गा खरिद गर्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव आह्वान
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कार्यालय सञ्चालनका लागि आफ्नै स्वामित्वको घर वा जग्गा खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। पार्टीको बढ्दो साङ्गठनिक आवश्यकता र संस्थागत स्थायित्वलाई ध्यानमा राख्दै हालको अस्थायी कार्यालयलाई प्रतिस्थापन गर्न केन्द्रीय समितिको निर्णयअनुसार घर/जग्गा खरिद गर्न लागिएको हो।
पार्टी केन्द्रीय कार्यालयले सार्वजनिक सूचना जारी गर्दै आवश्यक मापदण्ड पूरा भएका इच्छुक घरधनी तथा जग्गाधनीहरूलाई २१ दिनभित्र सिलबन्दी प्रस्ताव पेस गर्न आह्वान गरेको छ।
यस्ता छन् जग्गा तथा घरका लागि तोकिएका मापदण्ड:
* स्थान: काठमाडौं उपत्यकाभित्र चक्रपथ (रिङरोड) सँग जोडिएको वा चक्रपथ नजिकको क्षेत्र हुनुपर्ने।
* क्षेत्रफल: कम्तीमा ३ (तीन) रोपनी हुनुपर्ने।
* संरचना: प्रशासनिक काम, ठूला बैठक तथा छलफल गर्न मिल्ने भवन भएको वा त्यस्तो भवन निर्माण गर्न उपयुक्त खाली जग्गा।
* पार्किङ: कार्यालयमा आउने चारपाङ्ग्रे (कार) तथा दुईपाङ्ग्रे (मोटरसाइकल) सवारीसाधन सहजै पार्किङ गर्न पुग्ने ठाउँ भएको।
* बाटो: मुख्य सडकसम्म सजिलै पुगिने कम्तीमा २० फिट चौडा पक्की बाटोले छोएको हुनुपर्ने।
* स्वामित्व: कानुनी रूपमा विवादरहित, कुनै पनि बैंक वा वित्तीय संस्थामा रोक्का नरहेको तथा खरिद–बिक्रीका लागि स्पष्ट स्वामित्व भएको हुनुपर्ने।
इच्छुक व्यक्ति वा संस्थाले लालपुर्जा, नागरिकता (वा संस्था दर्ता प्रमाणपत्र), नापी नक्सा, चालु आर्थिक वर्षसम्मको कर तिरेको रसिद, घर भए नक्सा पास तथा निर्माण सम्पन्न प्रमाणपत्र, तस्बिर र प्रस्तावित मूल्यसहितको फाराम बन्द खाममा राखी वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ।
प्राप्त प्रस्तावहरूको स्थलगत निरीक्षण तथा अध्ययनपछि पार्टीको आवश्यकताका आधारमा अन्तिम निर्णय गरिने रास्वपाले जनाएको छ।
#onlinepatinews #RSPNepal #RastriyaSwatantraParty #KathmanduNews

