भोटेकोशी बाढी प्रभावित ४ हजार बढी परिवारलाई ४५ हजारका दरले राहत वितरण, बाँकीलाई तीन दिनभित्र दिइने
काठमाडौँ । सरकारले भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ घरधुरीलाई प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद राहत वितरण गरेको छ।
विकास साझेदार 'विश्व खाद्य कार्यक्रम' (डब्लुएफपी) को सहयोगमा दोहोरोपना नहुने गरी एकद्वार प्रणालीमार्फत उक्त रकम वितरण गरिएको हो। स्थानीय तहसँगको समन्वयमा पहिचान गरिएका रसुवाका ५, नुवाकोटका ४ र धादिङका २ गरी कुल ११ वटा स्थानीय तहका बाढीपीडित परिवारलाई यो सहयोग उपलब्ध गराइएको छ।
हाल तथ्यांक प्रमाणीकरणका क्रममा रहेका करिब १ हजार ४०० घरधुरीलाई पनि आगामी तीन दिनभित्र रकम उपलब्ध गराउने गरी तीव्र तयारी भइरहेको छ।
यसअघि असोज २३ गते बसेको केन्द्रसहित तीनवटै जिल्लाका मनसुन प्रतिकार्य कमाण्ड पोष्टको संयुक्त बैठकले प्रभावित घरधुरीको पहिचान, प्रमाणीकरण तथा शीघ्र पुनर्लाभलाई व्यवस्थित गर्ने निर्णय गरेको थियो।
नेपाल रेडक्रस लगायत अन्य विकास साझेदार संस्थाले पनि नगद सहायता गर्न चासो देखाएकाले 'विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१' अनुसार कोही नछुट्ने र दोहोरो नपर्ने गरी वितरण मिलाउन स्थानीय तहलाई निर्देशन दिइसकिएको छ।
यसैबीच, बाढी प्रभावित क्षेत्रमा तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापना र व्यवस्थापनका कामहरू पनि द्रुत गतिमा अघि बढाइएको छ।
#onlinepatinews #BhotekoshiFlood #ReliefDistribution #NepalNews

