NEPSE
बुधबार, १३ जेठ २०८३ | | Wednesday, May 27, 2026
समाचार

रास्वपाले उम्मेदवार बन्न कडा मापदण्ड लागू गर्‍यो

समाचार पढिँदैछ...

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अन्य दलबाट प्रवेश गर्ने व्यक्तिहरूका लागि उम्मेदवार बन्न कडा मापदण्ड लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार, अन्य दल परित्याग गरेर पार्टीमा आएका व्यक्तिले कम्तीमा ९० दिन पूरा गरेपछि मात्रै ‘उम्मेदवार क्लब’मा दर्ता हुन पाउनेछन्।

केन्द्रीय सचिवालयबाट पारित ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा’ अनुसार दल परिवर्तन गरेर आउनेहरूका लागि तीन महिनाको ‘कुलिङ पिरियड’ अनिवार्य गरिएको छ। पहिलोपटक पार्टी सदस्यता लिने व्यक्तिहरूका लागि भने ४५ दिनको अवधि तोकिएको छ।

उम्मेदवार बन्न इच्छुक व्यक्तिले अनिवार्य रूपमा ‘उम्मेदवार क्लब’मा दर्ता भई छनोट प्रक्रियामा सहभागी हुनुपर्ने व्यवस्था गरिएको छ। साथै, विशेष अवस्थामा ‘ल्याटरल इन्ट्री’मार्फत प्रतिष्ठित, विज्ञ वा सार्वजनिक रूपमा स्वच्छ छवि भएका व्यक्तिहरूलाई कुलिङ पिरियड नपुगे पनि आवेदन दिने सुविधा राखिएको छ, तर अन्य सबै मापदण्ड भने पूरा गर्नुपर्नेछ।

रास्वपाले उम्मेदवार छनोटका लागि बहु-चरणीय प्रक्रिया तय गरेको छ। उम्मेदवार क्लबमा दर्तापछि ‘लिडरसीप एकेडेमी’मार्फत प्रशिक्षण लिनुपर्नेछ। त्यसपछि मूल्यांकन तथा प्रारम्भिक मतदान प्रक्रियाबाट अन्तिम छनोट गरिनेछ।

पार्टीले चार मुख्य मापदण्ड तय गरेको छ—लिडरसीप एकेडेमी (२५ प्रतिशत), पोलिटिकल प्रोक्सिमिटी (२५ प्रतिशत), समावेशिता (१० प्रतिशत) र प्रारम्भिक मतदान (४० प्रतिशत)। यसअन्तर्गत वैचारिक स्पष्टता, जनसेवा भावना, संगठनात्मक सक्रियता, लोकप्रियता तथा अनुशासन जस्ता पक्षहरू मूल्यांकन गरिनेछन्।

त्यस्तै, वडा, पालिका तथा महानगर तहका उम्मेदवारहरूले सम्बन्धित समिति वा केन्द्रीय समितिबाट अनिवार्य लिखित सहमति लिनुपर्ने व्यवस्था पनि गरिएको छ।

पार्टीले यो नयाँ प्रणालीमार्फत उम्मेदवार छनोट प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने लक्ष्य राखेको जनाएको छ।

#RSP #NepalPolitics #Election2026 #CandidateSelection #onlindpatinews