NEPSE
बुधबार, १३ जेठ २०८३ | | Wednesday, May 27, 2026
समाचार

स्मार्ट टेलिकम प्रकरणमा जोडिएको आरोप अस्वीकार गर्दै सांसद जगदीश खरेलको खुला चुनौती

समाचार पढिँदैछ...

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल ले आफूलाई स्मार्ट टेलिकमको ३० अर्ब रुपैयाँ ठगी प्रकरणसँग जोडेर प्रकाशित गरिएका समाचारप्रति कडा आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले उक्त समाचारहरू भ्रामक, तथ्यहीन र नियोजित रूपमा प्रचार गरिएको दाबी गरेका हुन्।

सांसद खरेलले स्मार्ट टेलिकम प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दै उक्त विषयमा आफूले कुनै बैठक, फाइल पारित वा सम्बन्धित निकायसँग छलफलसमेत नगरेको बताए। आफूविरुद्ध “स्वीट्जरल्याण्ड भागेको” भन्ने समाचारसमेत प्रकाशित गरिएको उल्लेख गर्दै उनले यस्ता सामग्रीले आफ्नो राजनीतिक जीवन, व्यक्तिगत प्रतिष्ठा र संसद्को गरिमामाथि आघात पुगेको बताएका छन्।

प्रतिनिधिसभामा बोल्दै खरेलले भने, “यदि म स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा संलग्न भएको प्रमाणित हुन्छ भने म सधैंका लागि राजनीतिबाट बिदा लिन तयार छु।” उनले प्रमाणबिना समाचार प्रकाशन गर्ने पक्षले पनि जिम्मेवारी लिनुपर्ने धारणा राखे।

उनले पत्रकारिताको विश्वसनीयतामाथि प्रश्न उठाउँदै तथ्यहीन समाचारले व्यक्तिको मान–सम्मानमा गम्भीर असर पार्ने टिप्पणी गरे। साथै आफूविरुद्ध नियोजित रूपमा गलत प्रचार गरिएको दाबीसमेत गरेका छन्।

सांसद खरेलको यो अभिव्यक्तिपछि संसद् र राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ भने सामाजिक सञ्जालमा पनि उनको चुनौतीपूर्ण अभिव्यक्ति व्यापक रूपमा चर्चामा आएको छ।

#JagdishKharel #RSP #SmartTelecom #NepalPolitics #BreakingNews #Parliament #RabiLamichhane #NepalNews #PoliticalDebate #TrendingNews