नेपाल–भारत सीमा क्षेत्रमा गृहमन्त्री सुदन गुरुङ ले गरेको आकस्मिक अनुगमनपछि सुरक्षा निकायले सीमा निगरानी थप कडा बनाएका छन्। त्यसको प्रभावस्वरूप पर्साका विभिन्न सीमा नाकामा सशस्त्र प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेका ठूलो परिमाणका सामान नियन्त्रणमा लिन थालेको छ।
सशस्त्र प्रहरी बलका अनुसार पर्साका विभिन्न स्थानबाट कपडा, किराना सामग्री, मदिरा, फलफूललगायत करिब २३ लाख रुपैयाँ बराबरका भन्सार छलीका सामान तथा तिनको ओसारपसारमा प्रयोग भएका सवारीसाधन एकैदिन नियन्त्रणमा लिइएको हो।
गृहमन्त्री गुरुङले हालै सीमा क्षेत्रमा गोप्य रूपमा पुगेर सुरक्षा अवस्थाको निरीक्षण गरेका थिए। त्यसपछि सीमा क्षेत्रमा निगरानी, चेकजाँच र तस्करी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाइएको सुरक्षा स्रोतले जनाएको छ।
सीमावर्ती क्षेत्रमा लामो समयदेखि हुने भन्सार छली र अवैध ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी अझ सशक्त बनाउने जनाएको छ। बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ।
#OnlinePatiNews #SudanGurung #APF #NepalIndiaBorder #Smuggling