NEPSE
आइतबार, २१ असार २०८३ | | Sunday, July 5, 2026
समाचार

विद्युत बन्द नगरी मर्मत गर्ने प्रणाली सुरु, कुलमान घिसिङले भने– आधुनिक विद्युत सेवातर्फ महत्वपूर्ण कदम

समाचार पढिँदैछ...

विद्युत बन्द नगरी मर्मत गर्ने प्रणाली सुरु, कुलमान घिसिङले भने– आधुनिक विद्युत सेवातर्फ महत्वपूर्ण कदम

काठमाडौं । ११ केभी र ३३ केभी क्षमताका विद्युत प्रसारण तथा वितरण लाइनमा विद्युत प्रवाह भइरहेकै अवस्थामा (Live Line Maintenance) मर्मत–सम्भारको कार्य सुरु भएको छ। यसलाई नेपाल विद्युत प्रणालीलाई थप आधुनिक, भरपर्दो र उपभोक्तामैत्री बनाउने दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफ्नो कार्यकालमा उपभोक्तालाई बिना अवरोध गुणस्तरीय, सुरक्षित र निरन्तर विद्युत आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले लाइन बन्द नगरी मर्मत गर्न सकिने विशेष उपकरण खरिद, आवश्यक प्रविधि भित्र्याउने तथा प्राविधिक कर्मचारीलाई विशेष तालिम दिने कार्य सुरु गरिएको उल्लेख गरेका छन्।

उनले अहिले उक्त प्रयास व्यवहारमा कार्यान्वयन हुन थालेको देख्दा खुसी लागेको बताएका छन्। उनका अनुसार यस प्रविधिको प्रयोग विस्तार हुँदै जाँदा सामान्य मर्मत–सम्भारका लागि पटक–पटक विद्युत आपूर्ति बन्द (Shutdown) गर्नुपर्ने अवस्था अन्त्य हुनेछ।

घिसिङले यसबाट उद्योग, व्यवसाय, सेवा क्षेत्र तथा आम उपभोक्ताले थप भरपर्दो र निरन्तर विद्युत सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्। उनले आधुनिक विद्युत प्रणालीको मापन नै विद्युत आपूर्ति अवरुद्ध नगरी सेवा निरन्तर राख्दै मर्मत गर्ने क्षमताबाट हुने उल्लेख गर्दै अब यो प्रविधिलाई ११ र ३३ केभीमा मात्र सीमित नराखी उच्च क्षमताका प्रसारण लाइनमा समेत विस्तार गर्नुपर्ने बताएका छन्।

यस कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने प्राविधिक कर्मचारी, व्यवस्थापन टोली तथा सम्बन्धित सबैलाई उनले धन्यवाद तथा बधाईसमेत दिएका छन्।

#KulmanGhising #NEA #LiveLineMaintenance #Electricity #OnlinePatiNews