NEPSE
बिहीबार, ११ भाद्र २०८३ | | Thursday, August 27, 2026
समाचार

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा, नगद कारोबारका बिल दर्ता गर्न विभागको आग्रह

समाचार पढिँदैछ...

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन योग्य उपभोक्तालाई आफ्नो सक्कल प्यान (PAN) तथा भ्याट (VAT) बिल दर्ता गर्न आग्रह गरेको छ। विभागले शनिबारदेखि prize.ird.gov.np पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिएको हो।

विभागका अनुसार साउन १ गतेदेखि नगदमा रु. १०० भन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गरी सक्कल प्यान तथा भ्याट बिल लिएका उपभोक्ताले उक्त पोर्टलमार्फत बिल अपलोड गरेर कार्यक्रममा सहभागी हुन सक्नेछन्।

आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तथा सह-सचिव जनकराज शर्माले नगदमा खरिद गरी व्यक्तिगत प्रयोजनका लागि लिइएको योग्य बिल पोर्टलमा दर्ता गर्न सकिने जानकारी दिनुभयो। यसबाट करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुने अवसर प्राप्त हुने उहाँको भनाइ छ।

विभागले बैंक तथा डिजिटल वालेटमार्फत QR प्रयोग गरेर गरिएको रु. १०० भन्दा बढीको कारोबार भने प्रणालीमा स्वतः समावेश हुने स्पष्ट पारेको छ। त्यसैले यस्ता कारोबारका लागि अहिले बिल दर्ता गर्न आवश्यक नरहे पनि भविष्यमा उपहार दाबी गर्न सक्कल बिल सुरक्षित राख्नुपर्ने विभागको आग्रह छ।

उपभोक्ताले खरिद गर्दा अनिवार्य रूपमा प्यान तथा भ्याट बिल लिनुपर्ने र बिल उपलब्ध नगराइए विभागलाई जानकारी गराउन पनि विभागले अनुरोध गरेको छ।

विभागले साउन १ गतेदेखि लागू भएको करदाता प्रोत्साहन कार्यक्रमको पहिलो १५ दिनको नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। प्राविधिक तयारी पूरा भइसकेको र कुनै समस्या नआए दैनिक रु. १ लाखका १५ जना विजेता तथा १५ दिनको बम्पर रु. १० लाखका एक जना विजेताको घोषणा गरिने विभागले जनाएको छ।

आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई कर प्रणालीमा आकर्षित गर्न तथा बिल लिने संस्कृतिको विकास गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम घोषणा गर्नुभएको थियो। सोहीअनुसार स्वीकृत कार्यविधिअनुसार हरेक दिन एक जना उपभोक्तालाई कर कट्टीपछि रु. १ लाख र प्रत्येक १५ दिनमा एक जनालाई रु. १० लाख बम्पर नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ।

#TaxIncentive #IRDNepal #VATBill #OnlinePatiNews