काठमाडौं। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको जनाएको छ। विभागले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोटको विधि र प्रणालीबारे जानकारी गराउँदै नमुना ड्रसमेत प्रस्तुत गरेको हो।
विभागका महानिर्देशक तथा सहसचिव डा. भीष्मकुमार भूसालका अनुसार पहिलो उपहार कार्यक्रम शुक्रबार घोषणा गरिनेछ।
साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका तथा नगदमा खरिद गरी प्यान/भ्याट बिल विभागको वेबसाइटमा अपलोड गरेका उपभोक्तामध्येबाट विजेता छनोट गरिनेछ।
विभागका अनुसार उक्त अवधिको प्रत्येक दिनको कारोबारका आधारमा १५ जनाले करकट्टीपछि एक–एक लाख रुपैयाँ नगद उपहार प्राप्त गर्नेछन्। साथै, साउन १ देखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गरेका सबै योग्य उपभोक्तामध्येबाट एक जना भाग्यशाली विजेताले १० लाख रुपैयाँको बम्पर नगद उपहार जित्नेछन्। बम्पर पुरस्कारमा भने प्रचलित कानुनअनुसार कर लाग्ने विभागले जनाएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत करदातालाई प्रोत्साहन गर्न यस्तो उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभएको थियो।
करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार अबदेखि प्रत्येक महिनाको १६ गते (१–१५ गतेसम्मको कारोबार) र महिनाको अन्तिम दिन (१६ गतेदेखि महिनाको अन्त्यसम्मको कारोबार) उपहार घोषणा गरिनेछ।
बैंक तथा डिजिटल वालेटको क्यूआरमार्फत वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता स्वतः कार्यक्रममा सहभागी हुनेछन्। तर उपहार दाबी गर्न खरिदको बिल सुरक्षित राख्नुपर्नेछ। नगदमा खरिद गर्ने उपभोक्ताले भने प्यान वा भ्याट बिल अनिवार्य रूपमा लिएर आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गरी कुपन प्राप्त गरेपछि मात्र कार्यक्रममा सहभागी हुन सक्नेछन्।
#onlinepatinews