काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीहरूलाई लगानी विस्तार गर्न आग्रह गरेका छन्। सोमबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा उनले नयाँ लगानी भित्र्याउन, भइरहेका उद्योग विस्तार गर्न र रोजगारी सिर्जना गर्न २० वटा ठूला कम्पनीलाई आग्रह गरेका हुन्।
अर्थमन्त्री वाग्लेले नेपालमा थप लगानी गर्न, उत्पादन विस्तार गर्न तथा नयाँ प्रविधिमा प्रवेश गर्न आग्रह गर्दै सरकारले लगानीको वातावरण बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
अर्थमन्त्रीको आग्रहपछि कम्पनीका प्रतिनिधिहरूले नेपालमा करिब २०० अर्ब रुपैयाँ थप लगानी गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी गराएका छन्। जलविद्युत्, खाद्य, होटल, पेन्ट, पेय पदार्थलगायतका उत्पादनमूलक क्षेत्रमा लगानी विस्तारको तयारी भइरहेको उनीहरूले बताएका छन्।
कम्पनी प्रतिनिधिहरूले नयाँ सरकार र बजेटका कारण विदेशी लगानीकर्ताको मनोबल बढेको उल्लेख गर्दै थप नीतिगत स्थिरता र व्यावहारिक सहजीकरण आवश्यक रहेको बताए।
उनीहरूले माउ कम्पनीबाट नेपालमा पुँजी ल्याउन सहज व्यवस्था, आर्थिक तथा फौजदारी अपराधको स्पष्ट व्याख्या, आयकर ऐनको दफा ५७ संशोधन र श्रम कानुनमा सुधार गर्न सरकारको ध्यानाकर्षण गराए।
त्यस्तै, कच्चा पदार्थ आयातमा स्थिर भन्सार दर, नेपालमै उपलब्ध कच्चा पदार्थको सहज आपूर्ति, जग्गाको हदबन्दीसम्बन्धी व्यवस्था, स्थानीय तहअनुसार फरक–फरक करको समस्या समाधान तथा सरकारी सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउनुपर्ने माग पनि उनीहरूले राखेका छन्।
दोहोरो करको समस्या हटाउन र नेपालमा गरिएको लगानीको प्रतिफल फिर्ता लैजाने प्रक्रिया सहज बनाउन पनि कम्पनी प्रतिनिधिहरूले आग्रह गरेका छन्।
छलफलमा सूर्य नेपाल, एनसेल आजियाटा, आरती स्ट्राइप्स, गोर्खा ब्रुअरी, हिमालय एयरलाइन्स, होङ्सी शिवम् सिमेन्ट, डाबर नेपाल, बोटलर्स नेपाल, युनिलिभर नेपाल, एसियन पेन्ट्स, वरुण बेभरेज, टर्किस एयरलाइन्स, भोटेकोशी पावर कम्पनी, बर्जर पेन्ट्सलगायतका बहुराष्ट्रिय कम्पनीका नेपाल प्रमुख तथा प्रतिनिधिहरू सहभागी थिए।
अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयन तथा अर्थतन्त्र सुधारसम्बन्धी छलफललाई निरन्तरता दिँदै आएका छन्। यसअघि उनले उत्पादनमूलक उद्योगी, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग पनि अर्थतन्त्र विकास र लगानी विस्तारका विषयमा छलफल गरेका थिए।
#OnlinePatinews