NEPSE
बिहीबार, ११ भाद्र २०८३ | | Thursday, August 27, 2026
समाचार

मधेशको पछिल्लो अवस्थाबारे गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको सांसदहरूसँग संयुक्त छलफल

समाचार पढिँदैछ...

काठमाडौं । मधेश प्रदेशमा पछिल्लो समय देखिएको आन्दोलन तथा तनावपूर्ण अवस्थाबारे गृहमन्त्री सुधन गुरुङ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले मधेशका विभिन्न राजनीतिक दलका सांसदहरूसँग संयुक्त छलफल गरेका छन्।

गृह मन्त्रालयमा करिब दुई घण्टा चलेको छलफलमा मधेशको पछिल्लो अवस्था, तनावका कारण, सामाजिक सञ्जालमार्फत फैलिएका भ्रामक सामग्री तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायबारे छलफल भएको थियो।

छलफलमा अधिकांश सांसदहरूले सामाजिक सञ्जालमा फैलिएका भ्रामक तथा उत्तेजना फैलाउने भिडियोका कारण सर्वसाधारणमा आक्रोश बढेको र त्यसले आन्दोलन चर्काउन भूमिका खेलेको धारणा राखेका थिए। गलत सूचना तथा भ्रामक सामग्री नियन्त्रणका लागि राज्यका सम्बन्धित निकाय थप जिम्मेवार र सचेत हुनुपर्नेमा उनीहरूले जोड दिए।

रास्वपा मधेश प्रदेशका सभापति तथा सांसद तपेश्वर यादवले मधेशको अवस्था सहज बनाउन गृहमन्त्री गुरुङले खेलेको भूमिकाको प्रशंसा गरे। उनले गृहमन्त्रीको सक्रियताका कारण परिस्थिति क्रमशः सहज बन्दै गएको बताए।

रास्वपाकी सांसद पुनम अग्रवालले सीमाक्षेत्रमा देखिएको कडाइलाई सहज बनाउनुपर्ने प्रस्ताव राखिन्। उनले सीमावर्ती क्षेत्रबाट दैनिक उपभोगका पाँच सयदेखि हजार रुपैयाँसम्मका सामान सहज रूपमा ल्याउन पाउने व्यवस्था गर्नुपर्ने धारणा राखिन्।

गृहमन्त्री गुरुङले मधेशको अवस्था साम्य बनाउन राजनीतिक दल तथा सांसदहरूले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यस्ता आन्दोलन तथा तनाव दोहोरिन नदिन सबै राजनीतिक दल एकजुट भएर अघि बढ्नुपर्ने बताए।

नेपाली कांग्रेसकी सांसद रेखा यादवले पनि परिस्थितिलाई सम्बोधन गर्न गृहमन्त्री गुरुङले देखाएको सक्रियताको प्रशंसा गरिन्। उनले धर्मका नाममा हुने राजनीति तथा सामाजिक सद्भाव बिगार्ने गतिविधि रोक्न सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताइन्।

छलफलमा सहभागी सांसदहरूले मधेशमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सरकार, राजनीतिक दल र जनप्रतिनिधिबीच निरन्तर समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए।

मधेशमा पछिल्लो समय देखिएको तनावपूर्ण अवस्थालाई संवाद, सहकार्य र आपसी समझदारीमार्फत समाधान गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ।

#OnlinePatinews