काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीलाई सार्वजनिक लेखा समितिमा भएको सवाल–जवाफबारे प्रतिउत्तर दिएका छन्।
सांसद सुनारले सामाजिक सञ्जालमार्फत बर्दी र फुली देखाएर धम्क्याउँदैमा विषय टुंगिन नसक्ने बताएका छन्। उनले प्रहरी संगठन र दुःखमा काम गर्ने म्यादी प्रहरीको पक्षमा आफू सदैव रहेको उल्लेख गर्दै प्रहरीका गरिब परिवारका सदस्यसँग जोडिएको विषयमा गम्भीर छानबिन हुनुपर्ने बताएका छन्।
उनले राज्यमा १ हजार अर्ब रुपैयाँभन्दा बढी बेरुजु रहेको दाबी गर्दै भ्रष्टाचार, घोटाला र अनियमितताका विषयमा आफूले अझै ‘तितो’ बोल्न बाँकी रहेको बताएका छन्।
बुधबार सार्वजनिक लेखा समितिको बैठकमा निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको आरोप लगाउँदै सांसद सुनारले आइजिपी कार्कीमाथि समेत छानबिन गर्नुपर्ने माग गरेका थिए।
जवाफमा आइजिपी कार्कीले आफूले निष्ठापूर्वक काम गरिरहेको दाबी गर्दै समितिमा बोलाएर चरित्रहत्या गर्ने र मनलाग्दी टिप्पणी गर्ने काम उचित नभएको बताएका थिए। उनले आफूविरुद्ध परेका निवेदन निष्पक्ष रूपमा छानबिन हुनुपर्ने बताएका थिए।
कार्कीले आवश्यक परे ‘नेमिङ, सेमिङ, ब्लेमिङ र गेमिङ’ गर्न आफूहरूलाई पनि आउने चेतावनी दिएका थिए।
सुनारले भने उक्त विषय बर्दी र फुली देखाएर दबाउन नसकिने भन्दै सार्वजनिक जवाफदेहिता र छानबिनको आवश्यकता दोहोर्याएका छन्।
#onlinepatinews #NepalNews #KhadendraSunar #NepalPolice #Politics