काठमाडौँ, २९ साउन । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको पहुँच विस्तारसँगै गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर परिणाममुखी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
सञ्चार मन्त्रालयमा नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमसँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले टेलिफोन तथा इन्टरनेट सेवा कमजोर भएको गुनासो नागरिकबाट निरन्तर आइरहेको भन्दै नियामक र सेवा प्रदायक दुवै पक्ष गम्भीर बन्नुपर्ने बताउनुभयो।
सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रको ‘रूपान्तरणको वर्ष’ का रूपमा अघि बढाएको उल्लेख गर्दै उहाँले अब कामको प्रत्यक्ष परिणाम देखिनुपर्नेमा जोड दिनुभयो। दुर्गम तथा कतिपय सहरी क्षेत्रमा समेत गुणस्तरीय सेवा पुग्न नसकेको अवस्थामा ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) को रकम प्रभावकारी रूपमा परिचालन हुनुपर्ने उहाँको भनाइ छ।
“आरटिडिएफको पैसा नागरिकको पैसा हो । त्यसबाट नागरिक लाभान्वित हुनुपर्यो,” मन्त्री तिमिल्सिनाले भन्नुभयो, “त्यसको प्रभावकारी कार्यान्वयन भएको छ कि छैन भनेर नियामकले नियमन गर्नुपर्यो, सेवा प्रदायकले राम्रो सेवा दिनुपर्यो।”
उहाँले आर्थिक प्रतिफल कम हुने दुर्गम क्षेत्रमा समेत राज्यको भूमिका आवश्यक रहेको बताउँदै तत्काल व्यावसायिक नाफा नदेखिए पनि नागरिकलाई आधारभूत दूरसञ्चार सेवासँग जोड्नु राज्यको दायित्व भएको उल्लेख गर्नुभयो।
मन्त्री तिमिल्सिनाले नेपाल टेलिकमलाई सेवा विस्तार र गुणस्तर सुधारका लागि स्पष्ट व्यावसायिक योजना बनाएर अघि बढ्न निर्देशन दिनुभयो। लामो समयदेखि अघि बढ्न नसकेका टावर निर्माण तथा अप्टिकल फाइबर विस्तारसम्बन्धी आयोजनालाई तत्काल टुंग्याउन र एक साताभित्र विस्तृत कार्ययोजनासहित निर्णय गर्न पनि उहाँले निर्देशन दिनुभएको छ।
त्यस्तै, सडक विभाग, नेपाल विद्युत् प्राधिकरणलगायत सरकारी निकायसँग आवश्यक समन्वय गरी दूरसञ्चार पूर्वाधार विस्तारका कामलाई तीव्रता दिन उहाँले आग्रह गर्नुभयो।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले आरटिडिएफको रकममार्फत अघि बढाइएका केही आयोजना निर्धारित समयमा सम्पन्न हुन नसकेको जानकारी दिनुभयो। कोशी, बागमती र मधेश प्रदेशमा अप्टिकल फाइबर विस्तारका आयोजना अझै सम्पन्न हुन नसकेको उहाँले बताउनुभयो।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीले आर्थिक प्रतिफल कम हुने दुर्गम क्षेत्रमा सेवा विस्तार चुनौतीपूर्ण रहेको बताउनुभयो। त्यस्ता क्षेत्रमा ४जी सेवा विस्तारका लागि थप लगानी, फ्रिक्वेन्सी, ब्याण्डविथ र पूर्वाधार आवश्यक पर्ने उहाँको भनाइ छ।
नेपाल टेलिकमले चालु आर्थिक वर्षमा करिब एक हजार किलोमिटर अप्टिकल फाइबर विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ। साथै, आरटिडिएफको रकम परिचालन गरी दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा विस्तारलाई थप प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिइएको छ।
छलफलमा सहरी क्षेत्रमा अव्यवस्थित रूपमा रहेका दूरसञ्चार तथा इन्टरनेटका तार व्यवस्थापन गर्ने विषयमा समेत छलफल भएको छ। सडक तथा सार्वजनिक संरचनामा रहेका तार हटाउने, व्यवस्थित गर्ने तथा सम्भव भएका स्थानमा भूमिगत गर्ने गरी सम्बन्धित निकायबीच थप समन्वय गर्ने निष्कर्ष निकालिएको छ।
#onlinepatinews #Telecom #NepalTelecom #DigitalNepal