नुवाकोट, ३० साउन । नुवाकोट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जिल्लाका विभिन्न पहिरो प्रभावित तथा जोखिमयुक्त बस्तीको स्थलगत निरीक्षण गर्नुभएको छ।
मनसुनजन्य विपद्का कारण सडक तथा बस्तीमा पहिरो खसेर जनजीवन प्रभावित भएपछि मन्त्री तिमिल्सिनाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद्सहितको टोली लिएर जोखिमयुक्त क्षेत्रको निरीक्षण गर्नुभएको हो।
मन्त्री तिमिल्सिनाले सूर्यगढी गाउँपालिका–२ स्थित राम्चे भिर, रातामाटे, पहरेथोकलगायतका पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्दै स्थानीयवासी, जनप्रतिनिधि, सडक इन्जिनियर, भूगर्भविद् तथा सम्बन्धित सरकारी अधिकारीसँग पहिरोको अवस्था र जोखिमबारे जानकारी लिनुभयो। पहिरोका कारण पहरेथोक, फट्पुरलगायतका बस्ती जोखिममा परेको स्थानीयले जानकारी गराएका छन्।
निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले जोखिमयुक्त बस्तीको पहिचान गरी आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। विपद्पछि उद्धार र राहतमा मात्र सीमित नभई जोखिमको पूर्वपहिचान गरी नागरिकको जीवन तथा सम्पत्तिको सुरक्षा गर्नुपर्ने उहाँको भनाइ थियो।
उहाँले जोखिममा रहेका परिवारका लागि तत्काल सुरक्षित अस्थायी आवास, टहरा तथा टेन्टको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। साथै पहिरो खसेका क्षेत्रमा माथिबाट ढुङ्गा खस्ने जोखिम रहेकाले नागरिकको आवतजावतलाई सुरक्षित बनाउन तथा सडकमा खसेको पहिरो तत्काल हटाउन पनि आग्रह गर्नुभयो।
मन्त्री तिमिल्सिनाले नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुखसँग जिल्लाको विद्युत् आपूर्तिको अवस्थाबारे जानकारी लिनुभयो। पहिरोका कारण क्षति पुगेका विद्युत्का पोल तथा अन्य संरचनाको मर्मत गरी अवरुद्ध विद्युत् सेवा यथाशीघ्र सञ्चालन गर्न उहाँले निर्देशन दिनुभयो।
त्यस्तै, सडक डिभिजन नुवाकोटको टोलीसँग सडकको अवस्थाबारे जानकारी लिँदै पहिरोका कारण अवरुद्ध तथा जोखिममा रहेका सडकखण्डलाई सुरक्षित रूपमा सञ्चालनमा ल्याउन आवश्यक काम तत्काल अघि बढाउन निर्देशन दिनुभयो।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले सूर्यगढी गाउँपालिका–१ को सेमराङ तथा वडा नं. २ का फट्पुर र पहरेथोकलगायतका बस्ती पहिरोको उच्च जोखिममा रहेको जानकारी दिनुभयो। जोखिममा रहेका परिवारका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था गरिएको र थप भूगर्भीय मूल्याङ्कनपछि दीर्घकालीन रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढिरहेको उहाँले बताउनुभयो।
स्थलगत निरीक्षणकै क्रममा मन्त्री तिमिल्सिनाले सूर्यगढी गाउँपालिका–४ का स्थानीय प्रकाश गिरीको पहिरो प्रभावित घरको समेत अवलोकन गरी प्रभावित परिवारसँग भेटघाट गर्नुभयो।
यसैगरी उहाँले दुप्चेश्वर गाउँपालिका–३ सरमथलीको पहिरो क्षेत्रको पनि निरीक्षण गर्नुभएको छ। तादी गाउँपालिका–३ अल्छेढुङ्गना तथा शिवपुरी गाउँपालिका–६ अखौलीका पहिरो प्रभावित क्षेत्रको समेत स्थलगत अवलोकन गरी स्थानीयवासीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
स्थानीयवासीले टेलिफोन तथा इन्टरनेट सेवा, सडक, विद्युत्, पहिरो नियन्त्रण, सुरक्षित बस्ती व्यवस्थापन तथा विपद्पछिको पुनःस्थापनाका विषयमा मन्त्री तिमिल्सिनाको ध्यानाकर्षण गराएका छन्।
लगातारको वर्षाका कारण नुवाकोटका ग्रामीण सडक तथा बस्तीमा पहिरोको जोखिम बढिरहेका बेला स्थलगत निरीक्षणबाट जोखिममा रहेका परिवारको अवस्था, सडक तथा विद्युत् पूर्वाधारमा भएको क्षति र तत्काल गर्नुपर्ने कामको पहिचानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विपद्को जोखिममा रहेका बस्तीलाई तत्काल सुरक्षित स्थानमा राख्नुका साथै भूगर्भीय अध्ययनका आधारमा दीर्घकालीन रूपमा सुरक्षित स्थानमा पुनःस्थापना गर्नुपर्ने आवश्यकता देखिएको छ। यसका लागि स्थानीय तह, जिल्ला प्रशासन, प्रदेश तथा सङ्घीय सरकार र सम्बन्धित प्राविधिक निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको मन्त्री तिमिल्सिनाले जोड दिनुभएको छ।
#onlinepatinews #Nuwakot #Landslide #DisasterManagement #NepalNews