NEPSE
बिहीबार, ११ भाद्र २०८३ | | Thursday, August 27, 2026
समाचार

नेपालमै बनेको ‘यात्री पीटू’ स्कुटरको अर्थमन्त्री वाग्लेद्वारा अवलोकन, ‘सरकार साथमा छ’ भन्ने सन्देश

समाचार पढिँदैछ...

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन तथा निर्माण गरिएको विद्युतीय स्कुटर ‘यात्री पीटू’को प्रवर्द्धनमा सरकारको साथ रहने बताउनुभएको छ।

काठमाडौँको बुढानीलकण्ठस्थित सिप्रदी यात्रीको कारखानामा पुगेर स्कुटर निर्माण प्रक्रियाको अवलोकन गर्दै अर्थमन्त्री वाग्लेले नेपाली इन्जिनियर तथा डिजाइनरको मेहनत प्रशंसनीय रहेको बताउनुभयो।

उहाँले नेपालमै डिजाइन भएर विद्युतीय दुईपांग्रे सवारीसाधन निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उत्पादनको गुणस्तरलाई विश्वस्तरीय बनाउन र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सुझाव दिनुभयो।

“तपाईंहरूले गरेको मेहनत सह्रानीय छ। अघि बढ्नुहोस्, सरकार तपाईंहरूको साथमा छ,” अर्थमन्त्री वाग्लेले भन्नुभयो।

नेपालले आफ्नै डिजाइन र प्रविधिमा आधारित उत्पादनलाई विश्व बजारसम्म पुर्‍याउनुपर्नेमा जोड दिँदै उहाँले सम्भव भएसम्म उत्पादनका थप चरणहरू पनि नेपालमै गर्नुपर्ने बताउनुभयो। नेपाली उत्पादनले विश्वका स्थापित ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्ने गरी अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।

अर्थमन्त्री वाग्लेले नेपाली उत्पादन विश्व बजारमा विस्तार होस् भन्ने शुभकामना दिँदै नेपाली इन्जिनियर र डिजाइनरको सिर्जनशीलताको सम्मान गर्नुपर्ने बताउनुभयो।

अवलोकनका क्रममा यात्रीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत असिम पाण्डेले ‘यात्री पीटू’को डिजाइन, सुरक्षा परीक्षण, प्रयोग भएका पार्टपुर्जा तथा विभिन्न भूभागमा गरिएको परीक्षणबारे अर्थमन्त्रीलाई जानकारी गराउनुभयो।

सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमै विद्युतीय स्कुटरको डिजाइन र उत्पादन गर्नु ऐतिहासिक सफलता भएको बताउनुभयो। नेपाली भूगोलअनुसार कठिन तथा जटिल पहाडी र हिमाली क्षेत्रमा स्कुटरको परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो।

कम्पनीका अनुसार ‘यात्री पीटू’लाई छिट्टै सर्वसाधारणका लागि सार्वजनिक गर्ने तयारी भइरहेको छ। स्कुटरको विस्तृत डिजाइन तथा केही प्राविधिक विशेषता भने सार्वजनिक गरिएको छैन।

श्रेष्ठले नेपाली विद्युतीय सवारीसाधनलाई बजारमा प्रतिस्पर्धी बनाउन ब्याट्री तथा स्कुटरका पार्टपुर्जा उत्पादनमा प्रयोग हुने कच्चा पदार्थमा सरकारले सहुलियतपूर्ण नीति लिनुपर्ने सुझाव दिनुभयो।

नेदरल्याण्ड्सबाट इन्जिनियरिङ अध्ययन पूरा गरेर नेपाल फर्किएका असिम पाण्डेले सन् २०१७ मा विद्युतीय मोटरसाइकल निर्माण गर्ने उद्देश्यसहित ‘यात्री मोटरसाइकल’ स्थापना गरेका थिए। पछि नेपालको अग्रणी सवारीसाधन बिक्रेता सिप्रदी ट्रेडिङसँगको व्यावसायिक सहकार्यपछि कम्पनी ‘सिप्रदी यात्री’का रूपमा अघि बढेको हो।

कम्पनीले आफ्नै डिजाइन र इन्जिनियरिङमा तयार पारेको ‘यात्री पीटू’को गुणस्तर परीक्षणसमेत गराएको जनाएको छ। कम्पनीले नेपालमै विद्युतीय दुईपांग्रे सवारीसाधनको डिजाइन, इन्जिनियरिङ र उत्पादनलाई थप विस्तार गर्ने लक्ष्य राखेको छ।

#onlinepatinews #YatriP2 #ElectricScooter #NepalMade