सोमबार, २६ आश्विन २०८३ काठमाडौं 20:05:42
सत्य • तथ्य • विश्वसनीय
BREAKING
बुढीगण्डकी बाढीपछि विद्युत् मर्मत तीव्र, आरुघाटका सबै क्षेत्रमा लाइन जोड्ने प्रयास ✦ उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦ बुढीगण्डकी बाढीपछि विद्युत् मर्मत तीव्र, आरुघाटका सबै क्षेत्रमा लाइन जोड्ने प्रयास ✦ उपसभापतिमा चन्द्रकान्त र मधु, महामन्त्रीमा प्रदीप र उदय विजयी (पूर्ण परिणामसहित) ✦ बाढीपहिरोको क्षतिप्रति संवेदना जनाउँदै पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने ✦ भारतमा निर्वाचन आयोगविरुद्ध युवाको प्रदर्शन, मुख्य निर्वाचन आयुक्तको राजीनामा माग ✦ विश्व अर्थतन्त्रमा ऊर्जा संकट र बढ्दो सार्वजनिक ऋणको दबाब, आईएमएफ–विश्व बैंक बैठकमा छलफल हुने ✦ साउदी अरबको रियाद विमानस्थलमा मिसाइल आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते ✦
१ महिना अगाडि
Post Header Advertisement
समाचार

भोटेकोशीको विपत्ति विश्वमै असामान्य, उद्धारमा ठूलो चुनौती रहेको प्रोफेसर आर्नोल्ड डिक्सको भनाइ

समाचार सुन्नुहोस् (Listen to News)
भोटेकोशीको विपत्ति विश्वमै असामान्य, उद्धारमा ठूलो चुनौती रहेको प्रोफेसर आर्नोल्ड डिक्सको भनाइ
भोटेकोशीको विपत्ति विश्वमै असामान्य, उद्धारमा ठूलो चुनौती रहेको प्रोफेसर आर्नोल्ड डिक्सको भनाइ
भोटेकोशीको विपत्ति विश्वमै असामान्य, उद्धारमा ठूलो चुनौती रहेको प्रोफेसर आर्नोल्ड डिक्सको भनाइ
Post Content Top Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा परेको क्षति विश्वमै अत्यन्तै असामान्य प्रकृतिको विपत्ति भएको बताउनुभएको छ।

भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढीपछि प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिहरूको खोज तथा उद्धारमा प्राविधिक सहयोग गरिरहनुभएका डिक्सले बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठलाई उद्धार कार्यको पछिल्लो अवस्थाबारे जानकारी गराउनुभएको थियो। त्यसपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विपत्तिको प्रकृति र उद्धारका क्रममा देखिएका चुनौती असाधारण रहेको बताउनुभयो।

Post Content Middle In-Article Ad

डिक्सका अनुसार यस्तो प्रकृतिको विपत्ति विश्वमा निकै विरलै हुने गरेको छ। उहाँले सम्भवतः आफूले देखेकोमध्ये यो पहिलो प्रकारको घटना हुन सक्ने बताउनुभयो। बाढीले करिब ७२ किलोमिटर क्षेत्र प्रभावित बनाएको र कतिपय स्थानमा हवाई उद्धारबाहेक तत्काल अन्य विकल्प नरहेको उहाँको भनाइ छ।

अत्यन्तै साँघुरा गल्छी, क्षतिग्रस्त सडक तथा पुल र हेलिकप्टरसमेत अवतरण गर्न नसक्ने कठिन भौगोलिक अवस्थाका कारण उद्धार टोलीले ठूलो जोखिम मोलेर काम गरिरहेको उहाँले बताउनुभयो। उहाँका अनुसार उद्धारकर्ताका लागि समेत घटनास्थलसम्म पुग्नु र आवश्यक उपकरण तथा जनशक्ति परिचालन गर्नु चुनौतीपूर्ण बनेको छ।

news-6aa13ef61067d-.webp

‘हेलिकप्टर पनि ल्यान्ड गर्न नसक्ने अवस्थाबाट उद्धार गर्नुपर्ने स्थिति थियो। गल्छीहरू अत्यन्तै साँघुरा छन्। उद्धारकर्ताका लागि समेत यो अत्यन्त कठिन भूगोल हो।’

यस्तो विपत्तिका बेला कसैलाई दोष दिने समय नभएको डिक्सले स्पष्ट पार्नुभयो। उहाँले नेपाल सरकार तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उद्धार कार्यमा गरेको समन्वयको प्रशंसा गर्दै नेपाली पक्षले कठिन परिस्थितिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो।

‘अहिले कसैले कसैलाई दोष दिने अवस्था छैन, त्यो बेला पनि होइन। यस किसिमको विपत्ति आउनुमा मैले नेपालको कुनै दोष देख्दिनँ।’

भूमिगत संरचनामा जीवित व्यक्तिको सम्भावना

सतहमा ठूलो विनाश देखिए पनि त्यसैका आधारमा भूमिगत संरचनाभित्र जीवित मानिसको सम्भावना समाप्त भएको निष्कर्षमा पुग्न नहुने डिक्सको भनाइ छ। जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य भूमिगत संरचनाका केही भाग अझै बाँकी रहेको अवस्थामा सम्भावित जीवित व्यक्तिको खोजीलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो।

डिक्सले नेपालका जलविद्युत् आयोजनाका इन्जिनियरिङ डिजाइन तथा सुरुङ संरचनाको अध्ययन गरिरहेको जानकारी दिनुभयो। विपत्ति आएलगत्तै उपलब्ध डिजाइन, नक्सा तथा अन्य प्राविधिक विवरणको अध्ययन गरी उद्धारका सम्भावित बाटो पहिचान गर्न थालिएको उहाँले बताउनुभयो।

‘मैले जलविद्युत् आयोजना र सुरुङहरूको इन्जिनियरिङ डिजाइन अध्ययन गरेको छु। विपत्ति आएपछि सुरुमा मैले उपलब्ध डिजाइन र प्राविधिक तथ्यांक हेरेँ।’

सिल्क्यारा सुरुङ उद्धारबाट अन्तर्राष्ट्रिय पहिचान

सामान्य अवस्थामा सुरुङभित्र हुने दुर्घटना वा उद्धारका विषय सार्वजनिक चर्चामा कमै आउने गर्छन्। तर सन् २०२३ मा भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा फसेका ४१ जना कामदारलाई १७ दिनपछि सकुशल उद्धार गरिएको घटनामा महत्वपूर्ण प्राविधिक भूमिका निर्वाह गरेपछि डिक्स अन्तर्राष्ट्रिय रूपमा चर्चामा आउनुभएको थियो।

सिल्क्यारा उद्धारअघि पनि उहाँले लामो समयदेखि भूमिगत संरचना, टनेल सुरक्षा तथा उद्धार प्रविधिको क्षेत्रमा काम गर्दै आउनुभएको थियो। यही अनुभवका आधारमा उहाँ अहिले नेपालमा भइरहेको उद्धार प्रयासमा प्राविधिक सहयोग गरिरहनुभएको छ।

नेपाल एक्लो नभएको अन्तर्राष्ट्रिय सन्देश

नेपालमा भइरहेको उद्धार प्रयासप्रति अन्तर्राष्ट्रिय समुदायको ऐक्यबद्धता रहेको डिक्सले बताउनुभयो। विपत्तिका कारण पीडित नेपालीलाई आफूहरू एक्लो नभएको सन्देश दिन आफू नेपालमा सहयोगका लागि आएको उहाँको भनाइ छ।

उहाँले आफ्नो गाउँमा रहेको स्थानीय चर्चमा समेत नेपालका लागि प्रार्थना भइरहेको र आफू आबद्ध इन्टरनेसनल टनेलिङ एसोसिएसनले पनि नेपालप्रति सम्मान तथा सहयोग व्यक्त गरिरहेको बताउनुभयो।

‘तपाईंहरू एक्लो हुनुहुन्न। हामी यहाँ तपाईंहरूलाई सहयोग गर्न आएका छौँ।’

डिक्सका अनुसार यो विपत्ति केवल मानवीय त्रासदी मात्र नभई नेपालको राष्ट्रिय विकास, ऊर्जा सुरक्षा र सार्वभौमिकतासँग जोडिएको विषयसमेत हो। जलविद्युत् नेपालको राष्ट्रिय विकासको महत्वपूर्ण आधार भएकाले जलविद्युत् आयोजनाका संरचनामा भएको क्षतिलाई व्यापक दृष्टिकोणबाट हेर्नुपर्ने उहाँले बताउनुभयो।

जलविद्युत् आयोजनाको डिजाइनलाई दोष दिनु उचित होइन

हालको विपत्तिका आधारमा जलविद्युत् आयोजनाको डिजाइनलाई दोष दिनु उचित नहुने डिक्सले स्पष्ट पार्नुभयो। उहाँका अनुसार अहिले देखिएको घटना विगतमा विश्वमै नदेखिएको प्रकृतिको भएकाले त्यसअघिको उपलब्ध ज्ञान, प्राविधिक मापदण्ड र जोखिम मूल्यांकनका आधारमा तयार गरिएका डिजाइनलाई अहिलेको घटनाका आधारमा मात्र गलत भन्न मिल्दैन।

‘यदि कसैले यी जलविद्युत् आयोजनाको डिजाइन गलत थियो भन्न चाहन्छ भने त्यो पूर्ण रूपमा गलत निष्कर्ष हो। विश्वको इतिहासमा हामीले यस्तो घटना देखेका थिएनौँ। दुई हप्ताअघिसम्म हामीलाई जे थाहा थियो, त्यसका आधारमा त्यहाँका डिजाइन उपयुक्त थिए। अहिले परिस्थिति बदलिएको छ।’

उहाँले भविष्यमा यस्ता असाधारण विपत्तिबाट हुने क्षति न्यूनीकरण गर्न उद्धार तथा सुरक्षा प्रणालीलाई आयोजनाको डिजाइनकै चरणदेखि समेट्नुपर्ने आवश्यकता औँल्याउनुभयो। जोखिमको प्रकृति परिवर्तन भइरहने भएकाले पूर्वाधार निर्माणसँगै आपत्कालीन उद्धार प्रणाली र वैकल्पिक पहुँचको योजनालाई समेत प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ।

भारी उपकरण घटनास्थल पुर्‍याउनु अर्को चुनौती

डिक्सका अनुसार अहिलेको उद्धार अभियान सामान्य सुरुङ उद्धारभन्दा निकै फरक छ। उद्धारका लागि आवश्यक भारी उपकरण र दक्ष जनशक्ति घटनास्थलसम्म पुर्‍याउनु नै ठूलो चुनौती बनेको छ।

बाढीले सडक तथा पुलहरूमा ठूलो क्षति पुर्‍याएका कारण उपकरण ढुवानी गर्न समस्या भएको छ। हेलिकप्टरको क्षमताले पनि ठूला मेसिन घटनास्थलसम्म पुर्‍याउन नसकिने अवस्था रहेको उहाँले बताउनुभयो।

‘हामीलाई कुन उपकरण चाहिन्छ भन्ने थाहा छ, तर ती उपकरण हेलिकप्टरभित्र अटाउँदैनन्। त्यसैले अहिले सडक बनाउने काम भइरहेको छ। सडक पुगेपछि मात्रै ठूला मेसिन लैजान सकिन्छ।’

केही आवश्यक भारी उपकरणको तौल करिब पाँच टनसम्म रहेको उहाँले जानकारी दिनुभयो। तत्काल सडकमार्गबाट उपकरण लैजान नसकिने अवस्थामा अर्को किनारासम्म पहुँच पुर्‍याउन केबल पुल वा रोपवेको विकल्पसमेत खोजिएको उहाँले बताउनुभयो।

अन्तिम सम्भावनासम्म खोजी जारी राख्नुपर्नेमा जोड

उद्धारमा संलग्न नेपाली तथा अन्तर्राष्ट्रिय टोली अत्यन्तै तनावपूर्ण परिस्थितिमा दिनरात खटिरहेको डिक्सले बताउनुभयो। आफूले माग गरेका प्राविधिक सहयोग तथा समन्वयका विषयमा नेपाली पक्षबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको उहाँको भनाइ छ।

सडक, पुल, सञ्चार र पहुँचका पूर्वाधार नै ध्वस्त भएको अवस्थामा आवश्यक जनशक्ति, उपकरण र मेसिन घटनास्थलसम्म पुर्‍याउनु आफैंमा ठूलो चुनौती बनेको उहाँले बताउनुभयो। हजारौँ मानिस सहयोगका लागि तयार भए पनि उनीहरूलाई घटनास्थलसम्म पुर्‍याउन र त्यहाँ बस्ने व्यवस्था गर्न कठिन रहेको उहाँको भनाइ छ।

‘मैले पहिले कहिल्यै यस्तो देखेको थिइनँ। यो सामान्य उद्धार अभियान होइन।’

कठिन भौगोलिक अवस्था, निरन्तर जोखिम र सीमित पहुँचका बाबजुद नेपाली तथा अन्तर्राष्ट्रिय टोलीले गरिरहेको प्रयास महत्वपूर्ण रहेको डिक्सले बताउनुभयो। सम्भावित जीवित व्यक्तिको खोजीलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिनुपर्नेमा जोड दिँदै उहाँले विपत्तिमा परेका नेपालीलाई आफूहरू एक्लो नरहेको सन्देशसमेत दिनुभयो।

Post Content Bottom Advertisement
यो समाचार सेयर गर्नुहोस्:
फेसबुक ट्विटर म्यासेन्जर भाइबर
अघिल्लो समाचार अर्थमन्त्रीद्वारा दिवंगत भन्सार अधिकृत शर्माप्रति श्रद्धाञ्जली, बेपत्ता कर्मचारीको अवस्थाप्रति चिन्ता पछिल्लो समाचार बाढीले क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्कको पहिलो चरणको सेवा पुनःसञ्चालन सम्पन्न
Online Pati News
Online Pati News