खगेन्द्र सुनार जोडिएको विवादित अडियो प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग
समाचार सुन्नुहोस् (Listen to News)
खगेन्द्र सुनार जोडिएको विवादित अडियो प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार जोडिएको विवादित अडियो सार्वजनिक भएपछि नेकपा (एकीकृत समाजवादी) की नेत्री तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले पीडित महिला र नाबालक बच्चाको तत्काल उद्धार एवं सुरक्षाको माग गरेकी छन्।
मिडिया तथा सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त अडियोमा एक महिला र उनका नाबालक बच्चालाई लक्षित गरी ज्यान मार्ने धम्की तथा अश्लील गालीगलौज गरिएको दाबी गर्दै झाँक्रीले गम्भीर चिन्ता व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले यस्तो तहको अमानवीय हिंसा किमार्थ स्वीकार्य हुन नसक्ने बताएकी छन्।
"उनीहरूको सम्बन्धमा बच्चाको यहाँ के दोष? हिंसाको पनि हद हुन्छ नि!" भन्दै उनले कुनै पनि कसुरदारमाथि कारबाही हुनुभन्दा अघि पीडितको जीउज्यानको रक्षा प्राथमिकतामा पर्नुपर्ने स्पष्ट पारेकी छन्। बच्चा र महिलामाथि गम्भीर सुरक्षा जोखिम देखिएको उल्लेख गर्दै उनले नेपाल प्रहरी र सरकारलाई तत्काल उद्धार तथा कडा सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरेकी छन्।
साथै, यो विषय कसैको व्यक्तिगत मामिला मात्र नरहेर चरम मानसिक दबाब, असुरक्षा र अपराधसँग जोडिएको भन्दै उनले रास्वपा सभापति रवि लामिछाने र पार्टी नेतृत्वको समेत गम्भीर ध्यानाकर्षण गराएकी छन्। झाँक्रीले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेकी छन्।
#onlinepatinews #RamkumariJhankri #KhagendraSunar #NepalPolice

