खुलामञ्चमा ठूलो क्षति भएको छैन, पूर्ववत् अवस्थामा फर्काउँछौँ : विश्वप्रकाश शर्मा
समाचार सुन्नुहोस् (Listen to News)
खुलामञ्चमा ठूलो क्षति भएको छैन, पूर्ववत् अवस्थामा फर्काउँछौँ : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनका कारण खुलामञ्चमा कुनै ठूलो क्षति नपुगेको स्पष्ट पारेको छ। पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सोमबार खुलामञ्चको स्थलगत निरीक्षण गर्दै बाहिर आएका भ्रामक प्रचारको पछि नलाग्न आग्रह गर्नुभएको छ।
केही सञ्चारमाध्यममा खुलामञ्च ध्वस्त भएको भन्दै भ्रम फैलाइएको भन्दै शर्माले प्रत्यक्ष भिडियोमार्फत वस्तुस्थितिबारे जानकारी गराउनुभएको हो। हजारौँ मानिसको उपस्थिति तथा मञ्च व्यवस्थापनका क्रममा केही सामान्य असर पर्नु स्वाभाविक भए पनि प्रचार गरिएजस्तो गम्भीर क्षति नभएको उहाँले बताउनुभयो।
महाधिवेशनका लागि खुलामञ्च प्रयोग गर्दा काठमाडौँ महानगरपालिकासँग सम्झौता र प्रतिबद्धता गरिएको स्मरण गराउँदै शर्माले सार्वजनिक सम्पत्ति संरक्षणमा कांग्रेस पूर्ण जिम्मेवार रहेको स्पष्ट पार्नुभयो। महाधिवेशनका क्रममा भएको सामान्य क्षतिको मर्मतसम्भार पार्टीकै खर्चमा गरेर महानगरलाई पूर्ववत् अवस्थामा हस्तान्तरण गरिने उहाँको भनाइ छ।
"सार्वजनिक सम्पत्तिको उपयोग गर्नेले त्यसको मर्मतसम्भार र स्याहारको जिम्मेवारी पनि लिनुपर्छ भन्नेमा हामी प्रस्ट छौँ," शर्माले भन्नुभयो, "यसबारे महानगरलाई पहिल्यै औपचारिक जानकारी दिइसकिएको छ।"
कांग्रेसले खुलामञ्चको सरसफाइ र मर्मत कार्य तत्काल अघि बढाउने प्रतिबद्धता जनाएको छ। कांग्रेसको १५ औँ महाधिवेशन गत असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा सम्पन्न भएको थियो भने २४ गतेदेखि केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी छ।
#onlinepatinews #NepaliCongress #BishwaPrakashSharma #KhulaManch

