विद्युत् तार छुँदा घाइते रश्मीलाई १३ लाख ८१ हजार क्षतिपूर्ति
समाचार सुन्नुहोस् (Listen to News)
विद्युत् तार छुँदा घाइते रश्मीलाई १३ लाख ८१ हजार क्षतिपूर्ति
काठमाडौँ नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइनको तार छुँदा गम्भीर घाइते भएकी सुर्खेतकी ८ वर्षीया रश्मी जैसीलाई १३ लाख ८१ हजार ३७२ रुपैयाँ क्षतिपूर्ति तथा राहत दिने निर्णय गरेको छ।
प्राधिकरणको बुधबार बसेको सञ्चालक समिति बैठकले पञ्चपुरी नगरपालिका–२ श्रीचौर, कोटधारामा निर्माणाधीन पक्की पुलको उचाइका कारण ११ केभी प्रसारण लाइनको तार छुँदा घाइते भएकी रश्मीलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।
नुहाएर घर फर्कने क्रममा विद्युत् तार छुँदा रश्मी गम्भीर घाइते भएकी थिइन्। दुर्घटनाका कारण उनको पूर्ण अंगभंग भएको र विभिन्न अस्पतालमा उपचार गरिएको प्राधिकरणले जनाएको छ। उपचारमा ८१ हजार ३७२ रुपैयाँ खर्च भएको थियो।
प्राधिकरणले यसअघि उपचारका लागि ३ लाख रुपैयाँ पेश्की दिएको थियो। अब उक्त रकम कट्टा गरी क्षतिपूर्ति तथा राहतबापत बाँकी १० लाख ८१ हजार ३७२ रुपैयाँ उपलब्ध गराइनेछ।
प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार दुर्घटना क्षतिपूर्ति नियमावली, प्रहरीको सर्जिमिन मुचुल्का, स्थानीय तहको सिफारिस तथा मेडिकल बोर्डको निर्णयका आधारमा रकम स्वीकृत गरिएको हो।
### घाइते कर्मचारीलाई झण्डै २० लाख क्षतिपूर्ति
यसैगरी, विद्युत् प्राधिकरणले काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारी शेरबहादुर मगरलाई १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
मेलम्ची नगरपालिका–१० आम्बोटेमा १५ केभी प्रसारण लाइनको डिस्क पिन बदल्ने क्रममा गत चैत ११ गते करेन्ट लागेर मगर घाइते भएका थिए। उपचारका क्रममा ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको थियो।
प्राधिकरणको विनियमावलीअनुसार १० लाख रुपैयाँ क्षतिपूर्ति र उपचार खर्च ९ लाख ७८ हजार ३०१ रुपैयाँ गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो। मगरले यसअघि १० लाख रुपैयाँ पेश्की लिइसकेकाले अब बाँकी ९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराइनेछ।
#onlinepatinews #NepalElectricityAuthority #Surkhet #News

