अर्थमन्त्री स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान
समाचार सुन्नुहोस् (Listen to News)
अर्थमन्त्री स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका छन्।
भारत सरकारको निमन्त्रणामा अर्थमन्त्री वाग्ले बिहान ७ः३५ बजेको उडानमार्फत काठमाडौंबाट नयाँदिल्ली गएका हुन्। भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माण तथा नेपाल–भारतबीचको आर्थिक, राजनीतिक र कूटनीतिक सहकार्यका विभिन्न विषयमा छलफल हुने बताइएको छ।
भ्रमणका क्रममा बिहीबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ। शुक्रबार पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् भने भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।
त्यसैगरी, शुक्रबार साँझ भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने भेटघाट कार्यक्रममा सहभागी हुनेछन्।
शनिबार भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुने र दिल्ली स्कुल अफ इकोनोमिक्सको विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ।
अर्थमन्त्री वाग्ले शनिबार साँझ ४ बजे नेपाल फर्किने कार्यक्रम छ।
भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्रराज भण्डारी, नयाँदिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन्।
#onlinepatinews #SwarnimWagle #NepalIndia #EconomicDiplomacy

