भारतीय उद्योगी–व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान : ‘नेपालमा लगानी गर्ने उपयुक्त समय’
समाचार सुन्नुहोस् (Listen to News)
भारतीय उद्योगी–व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान : ‘नेपालमा लगानी गर्ने उपयुक्त समय’
नयाँ दिल्ली । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी, व्यवसायी तथा लगानीकर्तालाई नेपालमा लगानी र व्यापारका अवसर खोज्न आह्वान गरेका छन्।
नयाँ दिल्लीस्थित इन्डिया ह्याबिटाट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (CII) ले आयोजना गरेको व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले नेपालमा लगानीका लागि अहिले उपयुक्त वातावरण बन्दै गएको बताएका हुन्।
उनले डिजिटल अर्थतन्त्र, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, वेलनेस पर्यटन तथा उत्पादन क्षेत्रलाई नेपालका सम्भावनायुक्त क्षेत्रका रूपमा प्रस्तुत गरे। नेपाललाई भारतीय व्यवसायीले बजारका रूपमा मात्र नभई लगानी, उत्पादन, मूल्य अभिवृद्धि तथा क्षेत्रीय र विश्वव्यापी आपूर्ति शृंखलामा जोडिने रणनीतिक साझेदारका रूपमा हेर्नुपर्ने उनको भनाइ थियो।
मन्त्री वाग्लेले नेपाल सरकार सुशासन, आर्थिक सुधार, लगानी सहजीकरण र संरचनात्मक आर्थिक रूपान्तरणको एजेन्डामा अघि बढिरहेको बताए। नीतिगत सुधारमार्फत पारदर्शी, अनुमानयोग्य र लगानीमैत्री वातावरण निर्माण गर्ने प्रयास भइरहेको उनले उल्लेख गरे।
उनले नेपाल–भारतबीच लगानी, उत्पादन, ऊर्जा, पर्यटन, कृषि, डिजिटल अर्थतन्त्रलगायत क्षेत्रमा आर्थिक सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताए। नेपालमा सञ्चालनमा रहेका भारतीय कम्पनीलाई लगानी विस्तार गर्न र नयाँ लगानीकर्तालाई नेपाली बजारको खोजी गर्नसमेत उनले आग्रह गरे।
कार्यक्रममा सहभागी भारतीय व्यवसायी तथा CII सदस्यहरूले नेपालमा व्यापार तथा लगानीका सम्भावनाबारे चासो व्यक्त गर्दै लगानी नीति, सुविधा, क्षेत्रगत अवसर र व्यवसायिक वातावरणबारे मन्त्री वाग्लेसँग छलफल गरेका थिए।
भारत भ्रमणका क्रममा मन्त्री वाग्लेले नेपाल–भारत आर्थिक सहकार्य, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा विपद्पछिको पुनर्निर्माणलाई सुदृढ बनाउने विषयमा भारतीय अधिकारी, व्यवसायी तथा नीतिगत समुदायसँग उच्चस्तरीय छलफल गरिरहेका छन्।
#onlinepatinews #SwarnimWagle #NepalIndia #Investment

