रक्षाकर्मीलाई जलविद्युतको आईपीओमा २ प्रतिशत सेयर दिने तयारी, बाढी प्रभावित परिवारलाई ५ लाख राहत
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बहालवाला सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको प्राथमिक सेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भोटेकोशी-त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीका क्रममा सुरक्षाकर्मीले गरेको योगदानको उच्च मूल्यांकन गर्दै उक्त निर्णय लिन लागिएको जानकारी दिनुभयो ।
कठिन भौगोलिक अवस्था, प्रतिकूल मौसम र सीमित स्रोतसाधनका बाबजुद खोज, उद्धार र पुनःस्थापनामा सुरक्षाकर्मीले देखाएको समर्पण प्रशंसनीय रहेको उहाँको भनाइ थियो । राष्ट्रसेवामा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहित गर्न आईपीओमा सहभागिताको व्यवस्था गर्न लागिएको उहाँले स्पष्ट पार्नुभयो ।
यसैगरी विपद्का क्रममा ज्यान गुमाएका तथा सम्पर्कविहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका आश्रित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय भएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार त्रिशूली नदीमा ज्यान गुमाएका तथा सम्पर्कविहीन कर्मचारीका परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत र ६ महिनासम्म तलबको ५० प्रतिशत रकम उपलब्ध गराइनेछ ।
यो सहयोग क्षतिको क्षतिपूर्ति नभई पीडाको घडीमा राज्यले परिवारप्रति देखाएको साथ भएको उहाँले बताउनुभयो । प्राधिकरणको विनियमावली र सरकारको राहत प्याकेज अनुसार प्रभावित परिवारलाई थप सहयोग उपलब्ध गराइने उहाँको भनाइ छ ।
‘मानिसको जीवनभन्दा ठूलो पैसाको मूल्य हुँदैन । विनाशकारी बाढीले दिएको पीडा रकमले कम गर्न सकिँदैन । तर, दुःखको यस घडीमा पीडित परिवारको तत्कालको आवश्यकता पूरा गर्न सरकार उहाँहरूको साथमा उभिनुपर्छ,’ मन्त्री श्रेष्ठले भन्नुभयो ।
बाढी प्रभावित घरपरिवार र व्यवसायीलाई राहत दिन विद्युत् सेवामा पनि सहुलियत दिइएको उहाँले जानकारी दिनुभयो । भदौ महिनादेखि बाढी प्रभावित ग्राहकको न्यूनतम विद्युत् बिलिङ नगर्ने, क्षतिग्रस्त मिटरको लगत कट्टा गर्ने र पुनः सेवा लिन चाहने ग्राहकलाई निःशुल्क नयाँ मिटर उपलब्ध गराउने व्यवस्था गरिएको छ । बाढीबाट प्रभावित १५ स्थानीय तहका ग्राहकलाई विद्युत् महसुलमा थप सहुलियत दिने विषयमा अध्ययन भइरहेको समेत मन्त्री श्रेष्ठले बताउनुभयो ।
#onlinepatinews #BirajBhaktaShrestha #HydropowerIPO #TrishuliFlood

