एआईआईबीको उपसभापतिमा निर्वाचित हुँदै अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
समाचार सुन्नुहोस् (Listen to News)
एआईआईबीको उपसभापतिमा निर्वाचित हुँदै अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
काठमाडौं। एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन्।
कतार एयरवेजको जहाजमार्फत अर्थमन्त्री वाग्ले बिहान ८:४५ बजे काठमाडौं आइपुगेका हुन्। उनी बैठकमा सहभागी हुन असोज १० गते कतारको राजधानी दोहा प्रस्थान गरेका थिए।
वार्षिक बैठकका क्रममा एआईआईबीको गभर्नर परिषद्का गभर्नरसमेत रहेका वाग्ले सन् २०२६–२७ का लागि बैंकको **उपसभापति (Vice-Chair)** मा निर्वाचित भएका छन्। क्षेत्रीय सदस्य राष्ट्रमध्येबाट नेपाल पहिलोपटक एआईआईबीको उपसभापतिमा निर्वाचित भएको हो।
बैठकको ‘Governors’ Business Roundtable’ मा वाग्लेले पूर्वाधारमार्फत पुँजी निर्माण कम विकसित मुलुकको आर्थिक वृद्धिको महत्वपूर्ण आधार रहेको बताएका थिए। उनले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिलगायत उत्पादनका प्रमुख साधनमा लगानी बढाउनुपर्नेमा जोड दिएका थिए।
नेपालजस्ता मुलुकको आवश्यकताअनुसार बैंकको लगानीलाई थप सहुलियतपूर्ण बनाउनुपर्ने तथा स्वदेशी र विदेशी निजी पुँजी आकर्षित गर्ने गरी वित्तीय स्रोत उपलब्ध गराउनुपर्ने धारणा पनि उनले राखेका थिए।
भ्रमणका क्रममा वाग्लेले एआईआईबीका अध्यक्ष तथा कतार, भारत, बंगलादेश, आर्मेनिया र जर्जियाका अर्थमन्त्रीसँग द्विपक्षीय हित, आर्थिक सहकार्य, लगानी विस्तार तथा प्राकृतिक विपत्तिपछिको नेपालको पुनर्निर्माणमा सहयोगबारे छलफल गरेका थिए।
नेपाल एआईआईबीको उपसभापतिमा निर्वाचित भएपछि पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण तथा सदस्य मुलुकबीचको सहकार्य थप बढ्ने अपेक्षा गरिएको छ। #SwarnimWagle #AIIB #NepalEconomy #onlinepatinews

