रामेछापका विद्युत् दुर्घटनामा घाइते तामाङलाई १७ लाख ७८ हजार रुपैयाँ क्षतिपूर्ति
समाचार सुन्नुहोस् (Listen to News)
रामेछापका विद्युत् दुर्घटनामा घाइते तामाङलाई १७ लाख ७८ हजार रुपैयाँ क्षतिपूर्ति
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछापका विनोद तामाङलाई उपचार खर्चसहित १७ लाख ७८ हजार ६७६ रुपैयाँ उपलब्ध गराउने भएको छ।
प्राधिकरण सञ्चालक समितिको बैठकले रामेछाप नगरपालिका–५, सिमल भञ्ज्याङ खर्कभितेमा भएको विद्युत् दुर्घटनामा घाइते २७ वर्षीय तामाङलाई उपचार खर्च, कुरुवा खर्च र अंगभंगबापतको क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो।
११ केभी वितरण लाइनको अस्थायी स्टेमा छुन पुग्दा करेन्ट लागेर दुर्घटनामा परेका तामाङको काठमाडौं मेडिकल कलेजमा उपचार गरिएको थियो। उपचारका क्रममा ७ लाख १८ हजार ६७६ रुपैयाँ खर्च भएको थियो।
त्यस्तै, अस्पतालमा भर्ना भएर उपचार गराएको ६० दिनका लागि एक जना कुरुवाको खर्चबापत ६० हजार रुपैयाँ र पूर्ण स्थायी अशक्तता तथा अंगभंगबापत १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ।
प्राधिकरणले यसअघि तामाङलाई ५ लाख रुपैयाँ पेश्की दिइसकेको थियो। प्राधिकरण मेडिकल बोर्डले उपचारसम्बन्धी बिल, भरपाई, चिकित्सकीय प्रेस्क्रिप्सनलगायत कागजात अध्ययन गरी पेश्की कटाएर बाँकी उपचार खर्च तथा दुर्घटना क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गरेको थियो।
प्राधिकरण दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ अनुसार २ लाख रुपैयाँभन्दा बढी उपचार खर्चका लागि मेडिकल बोर्डको सिफारिस आवश्यक हुन्छ। सोही व्यवस्थाअनुसार तामाङको उपचार खर्चबारे बोर्डले अध्ययन गरी भुक्तानीका लागि सिफारिस गरेको हो।
विनियमावलीमा प्राधिकरणले काममा लगाएका म्यादी, करार तथा ज्यालादारी कामदार वा सर्वसाधारण व्यक्ति विद्युत् दुर्घटनामा परी मृत्यु वा घाइते भएमा उपचार तथा क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ।
#onlinepatinews #NepalElectricityAuthority #Ramechhap #ElectricityAccident

