संवेदनशील सूचना चुहाउनेलाई गृहमन्त्री गुरुङको कडा चेतावनी : ‘कानूनको कठघरामा ल्याइनेछ’
समाचार सुन्नुहोस् (Listen to News)
संवेदनशील सूचना चुहाउनेलाई गृहमन्त्री गुरुङको कडा चेतावनी : ‘कानूनको कठघरामा ल्याइनेछ’
काठमाडौं । गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय तथा मातहतका सुरक्षा निकायमा कार्यरत पदाधिकारी र कर्मचारीले पदीय जिम्मेवारीको दुरुपयोग गर्दै गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई उपलब्ध गराउने प्रवृत्तिप्रति गम्भीर चासो व्यक्त गरेका छन्।
गृहमन्त्री गुरुङले आफ्नो पदीय हैसियत भुलेर राज्यका संवेदनशील सूचना बाहिर पुर्याउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको बताएका छन्। उनले सरकारी जिम्मेवारीमा रहेका व्यक्तिले आफ्नो पहुँच र अधिकारलाई व्यक्तिगत स्वार्थ वा अन्य कुनै उद्देश्यका लागि प्रयोग गर्न नहुनेमा जोड दिएका छन्।
उनका अनुसार गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत कर्मचारी तथा पदाधिकारीले आफ्नो जिम्मेवारीका क्रममा प्राप्त गर्ने सूचना सामान्य विषय मात्र होइनन्। सुरक्षा, अपराध अनुसन्धान, सुराकी तथा सम्भावित जोखिमसँग सम्बन्धित सानोभन्दा सानो सूचनासमेत राज्यका लागि महत्वपूर्ण हुन सक्ने उनको भनाइ छ।
‘राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो,’ गृहमन्त्री गुरुङले भनेका छन्।
उनले पदका कारण कुनै व्यक्ति वा कर्मचारीलाई राज्यका गोप्य सूचनामा पहुँच प्राप्त हुने भए पनि त्यस्तो पहुँचलाई दुरुपयोग गर्ने अधिकार नहुने स्पष्ट पारेका छन्। जिम्मेवारीमा रहेका व्यक्तिले सूचनाको संवेदनशीलता बुझेर त्यसको सुरक्षा गर्नुपर्ने उनको भनाइ छ।
गृहमन्त्री गुरुङका अनुसार सुरक्षा निकाय तथा गृह प्रशासनमा प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गोप्य जानकारीले समेत अपराध रोक्न, अनुसन्धानलाई अगाडि बढाउन र सम्भावित जोखिमको पूर्वानुमान गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ।
त्यस्ता सूचनाको समयमै सही रूपमा प्रयोग भएमा अपराध नियन्त्रणदेखि अनुसन्धानका क्रममा आवश्यक प्रमाण तथा तथ्य पहिचान गर्नसमेत सहयोग पुग्ने उनले बताएका छन्। भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न पनि यस्ता सूचनाको भूमिका निर्णायक हुन सक्ने उनको भनाइ छ।
गृहमन्त्री गुरुङले राज्यले सुम्पिएको गोपनीयता र जिम्मेवारीप्रति सबै पदाधिकारी तथा कर्मचारी जवाफदेही हुनुपर्ने बताएका छन्। सरकारी निकायमा कार्यरत व्यक्तिले आफ्नो पद र पहुँचलाई व्यक्तिगत सम्बन्ध, स्वार्थ वा अन्य प्रयोजनका लागि प्रयोग गर्नु राज्यप्रतिको जिम्मेवारी उल्लंघन हुने उनको धारणा छ।
उनले जानाजान राज्यको गोपनीयता भंग गर्ने तथा संवेदनशील सूचना अनधिकृत रूपमा बाहिर पुर्याउने व्यक्तिलाई कुनै प्रकारको उन्मुक्ति नदिने चेतावनी दिएका छन्।
‘राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन,’ गृहमन्त्री गुरुङको भनाइ छ।
त्यस्ता गतिविधिमा संलग्न व्यक्ति जुनसुकै तह वा जिम्मेवारीमा रहेको भए पनि कानूनअनुसार अनुसन्धान र कारबाहीको प्रक्रियामा ल्याइने उनले स्पष्ट पारेका छन्। गोपनीयता कायम गर्नु केवल कर्मचारीको प्रशासनिक दायित्व नभई राष्ट्रिय सुरक्षा र सार्वजनिक हितसँग जोडिएको विषय भएकाले यसमा गम्भीर हुनुपर्ने उनको जोड छ।
गृहमन्त्रीको यो चेतावनीसँगै गृह मन्त्रालय तथा मातहतका निकायमा संवेदनशील सूचनाको सुरक्षा, पहुँचको जिम्मेवारी र सूचनाको अनधिकृत प्रयोगमाथि थप निगरानीको संकेत देखिएको छ।
#SudanGurung #HomeMinistry #NepalNews #onlinepatinews

