अर्थमन्त्री वाग्ले र विश्व बैंक अध्यक्ष बाङ्गाबीच भेटवार्ता, नेपालका लागि करिब १ अर्ब डलर स्रोत परिचालनबारे छलफल
वासिङ्टन डीसी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गाबीच अमेरिकाको वासिङ्टन डीसीमा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ।
विश्व बैंक समूहका अध्यक्ष बाङ्गाको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री वाग्ले र अध्यक्ष बाङ्गाबीच भएको भेटमा नेपालका समसामयिक आर्थिक विषय तथा विकासका प्राथमिकताबारे विस्तृत छलफल भएको हो।
भेटका क्रममा अर्थमन्त्री वाग्लेले हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकताका साथ उठाउनुभएको थियो। बाढीबाट भएको क्षतिको पुनर्निर्माणसँगै व्यापक आर्थिक सुधार, बीमा र सामाजिक संरक्षणका लागि करिब **एक अर्ब अमेरिकी डलर बराबरको स्रोत परिचालन** गर्ने विषयमा समेत घनीभूत छलफल भएको बताइएको छ।
नेपालमा प्राकृतिक विपद्का कारण पूर्वाधार तथा आर्थिक क्षेत्रमा परेको असरबारे अर्थमन्त्री वाग्लेले विश्व बैंक नेतृत्वसमक्ष जानकारी गराउनुभएको थियो। उहाँले पुनर्निर्माणसँगै नेपालको आर्थिक सुधार र सामाजिक सुरक्षाका क्षेत्रमा आवश्यक स्रोत तथा सहकार्य विस्तार गर्न आग्रह गर्नुभएको बताइएको छ।
भेटमा विश्व बैंकका अध्यक्ष बाङ्गाले भोटेकोशी बाढीबाट नेपालमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनर्निर्माणका क्षेत्रमा विश्व बैंकले उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
अध्यक्ष बाङ्गाले नयाँ सरकारले अघि बढाएका नीतिगत तथा संस्थागत सुधारका कदमहरूको प्रशंसा गर्दै नेपालमा पूर्वाधारमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। साथै, देशभित्रै रोजगारीका अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता समेत उहाँले औँल्याउनुभयो।
नेपालका प्राथमिकताका क्षेत्रमा विकास साझेदारबीच समन्वय र संयुक्त लगानी विस्तार गर्न विश्व बैंकले नयाँ पहल गर्ने जानकारीसमेत अध्यक्ष बाङ्गाले दिनुभएको छ। त्यसका लागि **एसियाली विकास बैंक (एडीबी) र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)** लगायतका विकास साझेदारसँग सहकार्य र समन्वय बढाउने विश्व बैंकको योजना रहेको बताइएको छ।
नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनका अनुसार विगत तीन दशकको अवधिमा विश्व बैंक समूहका अध्यक्ष र नेपालका अर्थमन्त्रीबीच भएको यो नै पहिलो प्रत्यक्ष द्विपक्षीय भेटवार्ता हो।
भेटमा विश्व बैंकका उपाध्यक्षद्वय जहानस जट र जुनेद अहमदसहित विश्व बैंकका उच्चपदस्थ अधिकारीहरूको समेत सहभागिता रहेको थियो।
नेपालको पुनर्निर्माण, आर्थिक सुधार, सामाजिक संरक्षण तथा पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय स्रोत परिचालनका दृष्टिले अर्थमन्त्री वाग्ले र विश्व बैंक नेतृत्वबीचको भेटलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

