कांग्रेस महाधिवेशन : नेतृत्व चयनका लागि दिउँसो १ बजेदेखि मतदान, अहिल्यै लाइनमा नबस्न आग्रह
समाचार सुन्नुहोस् (Listen to News)
कांग्रेस महाधिवेशन : नेतृत्व चयनका लागि दिउँसो १ बजेदेखि मतदान, अहिल्यै लाइनमा नबस्न आग्रह
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज दिउँसो १ बजेदेखि मतदान हुने भएको छ। यसअघि बिहान १० बजेका लागि तोकिएको मतदानको समय वर्षा र प्राविधिक कारणले पछि सारिएको केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिनुभयो।
मतदानको समय सारिएकाले महाधिवेशन प्रतिनिधिहरूलाई अहिल्यै मतदान केन्द्र पुगेर लाइनमा नबस्न निर्वाचन समितिले आग्रह गरेको छ। निर्वाचन व्यवस्थापनका सन्दर्भमा समितिले बिहान ११:३० बजे सभापति, उपसभापति र महामन्त्रीका उम्मेदवारहरूसँग राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालयमा छलफल गर्दैछ।
महाधिवेशनमा देशभर तथा प्रवासबाट आएका ७ हजार २५५ जना प्रतिनिधिले २९७ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि मतदान गर्नेछन्। सभापतिसहित विभिन्न पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको अन्तिम नामावली यसअघि नै सार्वजनिक भइसकेको छ।
मतदान केन्द्र र समूहगत व्यवस्था :
* राष्ट्रिय सभा गृह (मतदान केन्द्र 'क') : बागमती प्रदेश
* खुलामञ्च (मतदान केन्द्र 'ख') : कोशी प्रदेश तथा तराई–मधेस समूह
* खुलामञ्च (हिमाल हल) : गण्डकी प्रदेश
* खुलामञ्च (तराई–मधेस हल) : मधेश प्रदेश
* खुलामञ्च (पहाड हल) : लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थाका प्रतिनिधि
प्रतिनिधिहरूलाई तोकिएको केन्द्रमा प्रवेश गर्नुअघि परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ। मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लैजान पूर्ण प्रतिबन्ध लगाइएको छ। मतदान प्रक्रिया सम्पन्न भएलगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।
#onlinepatinews #NepaliCongress #NC15thConvention #CongressElection

