करदाता प्रोत्साहन कार्यक्रम: उपभोक्तासँगै अब विक्रेता व्यवसायीलाई पनि नगद पुरस्कार दिइने काठमाडौँ ।
समाचार सुन्नुहोस् (Listen to News)
करदाता प्रोत्साहन कार्यक्रम: उपभोक्तासँगै अब विक्रेता व्यवसायीलाई पनि नगद पुरस्कार दिइने काठमाडौँ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवा बिक्री गर्ने व्यवसायीलाई पनि नगद पुरस्कार दिने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ।
अर्थ मन्त्रालयमा आयोजित राजस्व समीक्षा बैठकमा बोल्दै मन्त्री वाग्लेले आन्तरिक राजस्व विभागलाई कार्यविधि संशोधन गरी विक्रेतालाई समेत प्रोत्साहन रकम उपलब्ध गराउने प्रस्ताव ल्याउन निर्देशन दिनुभएको हो।
बिल लिने र दिने बानीको विकास गरी औपचारिक अर्थतन्त्र विस्तार गर्ने उद्देश्यले सरकारले चालु आर्थिक वर्षको साउन १ गतेदेखि उपभोक्ता लक्षित पुरस्कार योजना सुरु गरेको थियो। यस कार्यक्रमले उपभोक्तामा बिल माग्ने बानी बढाए पनि केही व्यवसायी अझै बिल जारी गर्न हिचकिचाइरहेको गुनासो आएपछि अर्थमन्त्रीले विक्रेतालाई पनि समेट्न पहल गर्नुभएको हो।
"उपभोक्तामाझ बिल लिनुपर्छ भन्ने सचेतना निकै बढेको देखियो, तर अब बिल जारी गर्ने व्यापारीलाई पनि प्रोत्साहन गर्ने नीति आवश्यक छ," मातहतका उच्च अधिकारीहरूलाई निर्देशन दिँदै मन्त्री वाग्लेले भन्नुभयो, "कार्यविधि संशोधन गरेर उपयुक्त प्रस्ताव ल्याउनुहोस्, जसले गर्दा व्यवसायीलाई पनि बिल काट्न कुनै झन्झट महसुस नहोस्।"
साउन १ देखि असोज १५ गतेसम्म पाँच पटक गोलाप्रथा (पाक्षिक रूपमा) गरी ७४ जना उपभोक्ताले दैनिक पुरस्कारबापत कर कट्टीपछि जनही एक लाख रुपैयाँ र पाँच जनाले बम्पर उपहारबापत सात लाख ५० हजार रुपैयाँ नगद प्राप्त गरिसकेका छन्। विभागले समयमै कार्यविधि संशोधन गरेमा असोजको दोस्रो पाक्षिक (असोज १६ देखि मसान्त) को नतिजा सार्वजनिक गर्दा नै विक्रेताहरूका लागि पनि नगद पुरस्कार घोषणा गरिने तयारी छ। यद्यपि व्यवसायीका लागि छुट्याइने पुरस्कार रकम भने टुङ्गो लाग्न बाँकी छ।
यस कार्यक्रममा सहभागी हुन उपभोक्ताले वस्तु वा सेवा खरिद गर्दा अनिवार्य रूपमा सक्कल प्यान वा भ्याट बिल लिनुपर्ने व्यवस्था छ। विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ता स्वतः योजनामा समावेश हुन्छन् भने नगद कारोबार गर्नेले विभागको करदाता पुरस्कार पोर्टलमा बिल अपलोड गरेर भाग लिन सक्छन्।
#onlinepatinews #TaxIncentive #RevenueNepal #SwarnimWagle

